१३ औं सागको आज अन्तिम दिन, पाँच खेल हुँदै, समापन भब्य बनाइँदै

by समतल अनलाइन

प्रधानमन्त्रीले भिडियो सन्देशबाट सम्वोधन गर्ने, आज जोर नम्बरका गाडी मात्र चल्ने
काठमाडौं । नेपालमा जारी १३ औँं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) आज (मंगलबार) समापन मंगलबार हुँदैछ ।

डिसेम्बर १ (मंसिर १५ गते) औपचारिक उद्घाटन भएको प्रतियोगिताको अन्तिम दिन मंगलबार पाँच खेलहरु हुने जनाइएको छ । दशरथ रङ्गशालामा अपरान्ह समापन समारोह शुरुअघि फुटबल खेलको फाइनल हुनेछ भने बाँकी अरु खेलहरु त्यसअघि नै सकिने जनाइएको छ । समापनको अन्तिम दिनसम्म आइपुग्दा नेपाल ४९ स्वर्णसहित तालिकाको दोस्रो स्थानमा छ ।

नेपाल र भुटानबीच पुरुष फुटबल फाइनल अपरान्ह ३ बजे, दशरथ रङ्गशालामा हुनेछ । भुटान र माल्दिभ्सबीच महिला बास्केटबलको तेस्रो स्थानको खेल बिहान ८ बजे र पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेस्रो स्थानको खेल बिहान साढे १० बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा हुने जनाइएको छ ।

पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल अपरान्ह १ बजे, महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल अपरान्ह साढे ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा हुनेछ ।

बक्सिङमा ८ स्वर्णका लागि प्रतिष्पर्धा अपरान्ह १ बजेदेखि अन्तर्राष्ट्रिय खेलकुद परिसर कराते हल सातदोबाटोमा हुने छ । स्क्वासको पनि फाइनल खेल हुनेछ । जसमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिष्पर्धा गर्नेछन् ।

पुरुषतर्फ कास्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिष्पर्धा गर्नेछ । महिलातर्फ श्रीलंका र नेपालले कास्यको लागि खेल्नेछ । जुडोमा एक स्वर्णका लागि प्रतिष्पर्धा हुँदैछ । खेल बिहान ९ बजेदेखि शुरु भई फाइनल साढे १२ बजेदेखि आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा हुने जनाइएको छ ।
विशेष कार्यक्रमबीच सागको समापन
जारी १३ औं साग बिशेष कार्यक्रमकाबीच मंगलबार समापन हुँदैछ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै व्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको जानकारी दिएका छन् ।

सदस्य सचिब सिलवालले प्रतियोगिता शुरुदेखि अहिलेसम्म ब्यवस्थित रुपमा सञ्चालन भइरहेको र समापनलाई झनै ब्यवस्थित र भब्य बनाउन लागिएको बताएका छन् । समापन समारोहअघि मंगलबार नै नेपाल र भुटानबीच फुटवलको फाइनल हुनेछ ।

त्यसअघि मंगलबार १२ बजे सांसद ११ र राष्ट्रसेबक कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटवल हुने जनाइएको छ । फुटवल प्रतियोगिताको फाइनल लगत्तै समापन समारोह शुरु हुनेछ ।
डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रबिधिमार्फत सम्बोधन गर्ने जनाइएको छ । भोलि (बुधबार) प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने कार्यक्रम छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथी रहने समापन समारोहमा, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिब सिलबालले सम्बोधन गर्ने छन् ।

समापन समारोहकै अवसरमा १४ औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिने छ । त्यसैगरी नेपाल भ्रमण बर्ष २०२० लाई प्रबर्धन गर्ने गरी बिशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्य सचिब सिलवालले जानकारी दिएका छन् ।

कार्यक्रमका अवसरमा साग ऐतिहासिक रुपमा सफलतापूर्बक सम्पन्न भएको सन्देश दिने गरी मार्चपास, सांस्कृतिक कार्यक्रम र आतिसबाजी गरिनेछ ।

जोर नम्बरका सवारी मात्रै चलाउन पाइने
१३ औं सागको आज (मंगलबार) औपचारिक रुपमा समापन हुँदैछ । मंगलबार बेलुका त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने विशेष कार्याक्रमका बीच साग समापन हुनेछ ।
यसलाई लक्षित गरी मंगलबार ट्राफिक व्यवस्थापनका लागि जोर नम्बरका सवारी साधान मात्रै चलाउन पाइने व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

विजोर नम्बर प्लेटका सवारी साधन चलाएको पाइएमा कारवाही गरिने पनि प्रहरीले उल्लेख गरेको छ । जोर नम्बरकै भए पनि सकेसम्म निजी सवारी साधानलाई मुख्य भन्दा पनि सहायक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

विदेशी विशिष्ट पाहुना र खेलाडी फर्किने भएका कारण हुनसक्ने ट्राफिक चुनौतीलाई ध्यानमा राखेर प्रहरीले विजोर नम्बरका गाडी मात्रै चलाउन भनेको हो । यसअघि मंसिर १५ गते विजोर नम्बका गाडी मात्रै चलाउन दिइएको थियो ।

 
 
  
 

You may also like