काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।
तीन खेल खेलेको लुम्बिनी लायन्स दुई जित र एक बराबरीसहित पाँच अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा छ। अपराजित रहेको लुम्बिनी आजको खेल जित्दै आफ्नो चौथो जित दर्ता गर्ने लक्ष्यमा हुनेछ।
यता, जनकपुर बोल्ट्सले चार खेलबाट दुई जित र दुई हार बेहोर्दै चार अंक जोडेको छ। तालिकाको चौथो स्थानमा रहेको जनकपुर आज जित निकाल्दै तेस्रो जित हासिल गर्ने योजनामा मैदान उत्रनेछ। समान चार अंक भए पनि रनरेटका आधारमा कर्णाली र विराटनगर जनकपुरभन्दा अगाडि छन्।
आजको दोस्रो खेलमा साँझ ५ बजे काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।
दुई खेल खेलेको काठमाडौंले एक जित र एक हार बेहोर्दै दुई अंक जोडेको छ। तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको काठमाडौंका लागि आजको खेलमा जित निकाल्नु महत्वपूर्ण हुनेछ ।
अर्कोतर्फ, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स चार खेलबाट दुई जितसहित चार अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। विराटनगर पनि आजको खेल जित्दै पाँचौँ खेलबाट तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।
आजका दुवै खेलले अंकतालिकाको समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ।


