काठमाडौं । भारतको जम्मु कश्मीरमा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव लखनउ हुँदै आज रातिसम्म रुपन्देही ल्याउन लागिएको छ ।
यसअघि उनको शव कश्मीरबाट दिल्ली हुँदै काठमाडौ ल्याउन उनका काका दधिराम न्यौपाने बुटवलबाट बिहानै काठमाडौं पुगेका बताएका थिए । मंगलबार जम्मु कश्मीरस्थित पहलगाममा आतंकवादीको आक्रमणमा बुटवलका २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको थियो ।
उनीसँगै गएका आमा रिमा, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसहितले शव लिएर आउन लागेको पारिवारिक स्रोतले जनाएको छ । काठमाडौंको टिकट नपाएपछि त्यहाँबाट लखनउ १०ः४० बजे ल्याइने र त्यहाँबाट गाडीमै सुनौली हुँदै बुटवल ल्याइने भएको परराष्ट्र स्रोतले जनाएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्मासँग आज बिहानै कुराकानी गरी यस विषयमा समन्वय गर्न निर्देशन दिएकी थिइन् । मन्त्री डा. राणा र राजदूत डा. शर्माले भारतीय विदेश मन्त्रालयसँग यस विषयमा समन्वय गरेका थिए ।
सो समन्वयपछि आज नै साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनौँ हवाई जहाजमा तथा लखनौबाट नेपालको बोर्डरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको हो । दिल्लीबाट लखनौंको उडानका लागि उनीहरुलाई सहजीकरण गर्न दिल्ली विमानस्थलमा नयाँ दिल्लीस्थित नेपाली दूताबासबाट दुई जना कर्मचारी खटाइएको छ । त्यस्तै सुनौली बोर्डरबाट बुटवल घरसम्म नै उनीहरुलाई पुर्याउने व्यवस्थाका लागि पनि मन्त्री डा. राणाले गृहमन्त्री रमेश लेखकसँग कुराकानी गरेका थिए ।