काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेसको कार्यक्रममा राष्ट्रिय झण्डा पनि चार तारे झण्डा जत्तिकै बोकेर हिँड्नुपर्ने बताएका छन् । आज (शनिबार) धनकुटामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गगनले यस्तो बताएका हुन् ।
‘अहिले हुँदाहुँदा पुरानो सुतिसकेको मान्छे आएर राष्ट्रिय झण्डा बोकेर आएको छ,’ गगनले भने, ‘मैले त भन्दिया छु, पार्टीको कार्यक्रममा जति कांग्रेसको झण्डा छ त्यति नै राष्ट्रिय झण्डा बोकेर हिँड्नुपर्छ अब ।’ राष्ट्रिय झण्डा पनि कांग्रेसकै कारण जीवित रहेको गगनले दाबी गरे। ‘झण्डा हाम्रो हो त्यो । अहिले आएर राष्ट्रवादी भन्या छ, मण्डले आएर हाम्रो हो भनेर बोकेर हिँड्या छ । हामीले बनाएको हो नि । कांग्रेस नभएको भए देशै नरहने स्थिति पनि हुन सक्थ्यो,’ गगनले भने ।
पञ्चायतविरुद्ध सुवर्ण शमशेरको नेतृत्वमा कांग्रेसले चलाएको सशस्त्र क्रान्ति जित्ने अवस्था रहेका बेला भारत–चीन युद्ध सुरु भएपछि देशको खतरालाई हेरेर कांग्रेस ब्याक भएको पनि गगनले सम्झिए । ‘त्यति बेला बिपी कोइरालाले आफू जेल परेर भए पनि दूरदर्शिता नदेखाएको भए देश नरहन पनि सक्थ्यो,’ गगनले भने ।
अहिले कांग्रेसविरुद्ध पनि ठुलो आक्रमण भइरहेको गगनले टिप्पणी गरे । उनले भने, ‘बाहिर बसेको मान्छेहरू आएका छन्, हामीलाई हिजोको मण्डलेलाई गरेको जस्तो व्यवहार गरेका छन् । एउटा आएको छ ठोक्दिएको छ । यसमा सबैले ध्यान दिनुपर्छ ।’