९ करोडभन्दा बढी बिगो दाबी भएका किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ पक्राउ

by समतल अनलाइन
34Shares

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसूर तथा ठगीसम्बन्धी मुद्दा दर्ता रहेको र ती मुद्दामा कुल ९ करोड ५६ लाख ५५ हजार रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले भदौ २९ गते दिउँसो काठमाडौं महानगरपालिका–२९ हनुमानथानबाट तामाङलाई नियन्त्रणमा लिएको हो। नुवाकोटको किस्पाङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको नयाँबजारमा बस्दै आएका तामाङविरुद्ध उपत्यकाका विभिन्न प्रहरी वृत्त तथा परिसरमा बैंकिङ कसूर र ठगीका मुद्दा दर्ता छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंमा मात्रै तामाङविरुद्ध ३ करोड ४ लाख, १ करोड ५३ लाख, ४८ लाख र ९५ लाख रुपैयाँ बिगो दाबी गरिएका चारवटा बैंकिङ कसूरका मुद्दा रहेका छन्। त्यस्तै, २ करोड ५६ लाख रुपैयाँ बिगो दाबी गरिएको ठगी मुद्दासमेत गरी काठमाडौं परिसरमा मात्रै ८ करोड ५६ लाख रुपैयाँ बराबरको बिगो दाबीसहित अदालतमा मिसिल पेस भइसकेको प्रहरीले जनाएको छ।

यसैगरी प्रहरी वृत्त जनसेवामा ७५ लाख, लैनचौरमा १९ लाख ८० हजार, दरबारमार्गमा ५ लाख २५ हजार तथा जिल्ला प्रहरी परिसर भक्तपुरमा २ लाख रुपैयाँ बिगो दाबी गरिएका बैंकिङ कसूरका मुद्दा तामाङविरुद्ध दर्ता छन्।

प्रहरी वृत्त महाराजगञ्जमा समेत तामाङविरुद्ध मुद्दा रहेको प्रहरीले जनाएको छ। उक्त मुद्दामा बिगो रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

You may also like