41
बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार ओमसतिया गाउँपालिका–६ नारायणपुरमा खोजतलास गरेको थियो।
खोजतलासका क्रममा नारायणपुरका २३ वर्षीय अमन कुमार धवलको घरमा लुकाइराखेको अवस्थामा एक थान कटुवा पेस्तोल र २५ राउण्ड छर्रा बरामद भएको प्रहरीले जनाएको छ।
हातहतियार बरामद भएपछि प्रहरीले धवलसँगै सोही स्थानका २० वर्षीय सुनिल केवटलाई पनि नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनामाथि हातहतियारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए।

