आजको मौसम : कोशीसहित पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना

by समतल अनलाइन
29Shares

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

हाल कोशी प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने तराईका भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

देशका पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाइएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थान तथा मधेश, कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ। कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

You may also like