बुटवल । बुटवलस्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा नवनियुक्त क्याम्पस प्रमुख गोपाल चापागाईंले सोमबार पदभार ग्रहण गर्नुभएको छ।
यसअघि क्याम्पस प्रमुख रहेका कृष्णप्रसाद शर्माले राजीनामा दिएपछि बसेको क्याम्पस व्यवस्थापन समितिको बैठकले चापागाईंलाई प्रमुखको जिम्मेवारी दिएको हो। पदभार ग्रहण गर्दै चापागाईंले क्याम्पसको विकास, विस्तार र शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकता दिने बताउनुभयो। उहाँले मन, बचन र कर्मले लागेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
उहाँले क्याम्पसलाई अगाडि बढाउने उद्देश्यले योजना बनाएको भन्दै सबैको साथ र सहयोगको अपेक्षा राख्नुभयो।
सो अवसरमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन क्याम्पस स्थापना गरिएको बताउँदै अब गुणस्तर सुधार र पूर्वाधार विकासतर्फ विशेष ध्यान दिन क्याम्पस प्रशासनलाई आग्रह गर्नुभयो।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त क्याम्पस प्रमुख कृष्णप्रसाद खनाल, पूर्व प्रमुख विष्णुप्रसाद राना, प्रजातन्त्रवादी प्राध्यापक संघका क्याम्पस इकाई सभापति तारा ज्ञवाली, नेपाल प्रगतिशील प्राध्यापक संगठनका इकाई अध्यक्ष तथा केन्द्रीय सदस्य भूपाल शर्मालगायतले शुभकामना व्यक्त गर्दै साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रम सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो।