रूपन्देहीमा पेस्तोल र गोलीसहित एक जना पक्राउ

by समतल अनलाइन
25Shares

बुटवल । रूपन्देही प्रहरीले पेस्तोल, गोली तथा विभिन्न शंकास्पद कागजातसहित एक जनालाई पक्राउ गरेको छ।

चोरी भएका मोटरसाइकलमा नक्कली कागजात तयार गरी बिक्री–वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले विशेष निगरानी तथा अनुसन्धान अघि बढाएको थियो।

सोही क्रममा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले सियारी गाउँपालिका–२ का ४४ वर्षीय अजय चौधरीलाई सिद्धार्थनगर नगरपालिका–७ स्थित विद्यापथ क्षेत्रमा चेकजाँचका क्रममा पक्राउ गरेको हो।

प्रहरीका अनुसार चोरीका मोटरसाइकलको कारोबारमा संलग्न रहेको आशंकामा चौधरीमाथि निगरानी राखिएको थियो। चेकजाँचका क्रममा उनको साथबाट टाइप–५४ जस्तो देखिने एक थान पेस्तोल, चार राउन्ड गोली, एउटै व्यक्तिको फोटो प्रयोग गरिएका दुई थान ब्लुबुक र चार थान भारतीय आधार कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद ब्लुबुक र आधार कार्डको प्रकृतिका आधारमा विभिन्न सवारीसाधनको स्वामित्व तथा पहिचानसम्बन्धी कागजातमा अनियमितता भएको हुनसक्ने प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा चोरीका मोटरसाइकलका लागि नक्कली कागजात तयार गरी बिक्री–वितरण गर्ने गिरोहसँग चौधरीको सम्बन्ध हुन सक्ने आशंका गरिएको छ।

प्रहरीले बरामद पेस्तोल तथा गोलीको स्रोत, प्रयोगको उद्देश्य र कागजातहरूको वास्तविकताबारे अनुसन्धान गरिरहेको जनाएको छ। साथै भारतीय आधार कार्ड र ब्लुबुक कुन प्रयोजनका लागि प्रयोग गरिएको थियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार चौधरीलाई बरामद हातहतियार, गोली तथा अन्य सामग्रीसहित नियन्त्रणमा राखी हातहतियार तथा खरखजाना, किर्ते कागजातलगायत सम्भावित कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद सामग्रीको प्राविधिक परीक्षण तथा कागजात प्रमाणीकरणको प्रक्रिया अघि बढाइएको छ भने अनुसन्धानबाट थप तथ्य खुलेपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

You may also like