बुटवल । बुटवल ११ स्थित ज्ञानपुञ्ज इंगलिस बोर्डिङ स्कूलले सोमबार फरक कार्यक्रम गर्यो । न कुनै ठूलो तामझाम थियो, न कुनै ब्यानर नै । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर विद्यालयले ९० बर्षमाथिका जेष्ठ नागरिक सम्मान तथा जेष्ठ नागरिकको अनुभव सुन्ने कार्यक्रम गरेको हो ।
बुटवल उपमहानगरपालिका वडा न. ११ का ९० बर्षमाथिका जेष्ठ नागरिकहरुलाई उनीहरुकै घरमा पुगेर सम्मान गर्दै पूराना अनुभव सुन्ने कार्यक्रम गरिएको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए । ‘शिक्षा भनेको विद्यालय र पाठयक्रमको घेरामा मात्रै सिमित गर्न हुँदैन’ प्राचार्य भण्डारीले भने –‘स्वास्थ्यका कारणले हामी नै घरमा पुगेर जेष्ठ नागरिकप्रति सम्मान गर्यौं, भेट्दा उहाँहरु निकै खुशी हुनुभयो ।’
ज्ञानपुञ्जले बुटवल ११ स्थायी बसोबास भएका ९५ बर्षिय वदम कुमारी , ९४ बर्षिय ईश्वरी अर्याल, ९४ बर्षिय कुमकान्ति बस्याल, ९४ बर्षिय रम्बामती थापा मगर, ९३ बर्षिय विष्णी दर्लामी, ९२ बर्षिय रामिशरा गुरुङ र ९७ बर्षिय रणबहादुर थापालाई दोसल्ला, प्रमाणपत्र, नगद र मायाको चिनोद्धारा सम्मान गरेको छ । उक्त अवसरमा जेष्ठ नागरिकलाई हर्लिक्स समेत प्रदान गरिएको थियो ।
बृद्ध उमेर भएकाहरुप्रति विद्यालयबाटै सम्मान र अनुभव समेत हस्तान्तरण हुनुपर्ने मान्यता प्रत्येक विद्यालयले सिकाउनुपर्ने प्राचार्य भण्डारीको भनाई छ । बुटवल ११ निवासि रणबहादुर थापाले आफू आर्मीबाट रिटायर भएपनि पढन नछाडेको बताए । उनले यसरी विद्यालयले सम्मान गर्दा शिक्षाको महत्वलाई अझ झल्काएको बताए।
जेष्ठ नागरिकहरुले भेटका क्रममा जीवनमै पहिलो पटक विद्यालयबाट घरमै सम्मान पाएकोमा खुशी थिए । ९३ बर्षिय विष्णी दर्लामीले विद्यालयले गरेको सम्मानले बुढेसकालमा उर्जा थपेको बताईन ।
चिनजान नै नभएको विद्यालयले पनि यसरी खोजेर सम्मान गरेकोमा बुटवल ११ कालिकानगरकी लक्ष्मी थापाले निकै खुशी लागेको बताईन ।कतिपय जेष्ठ नागरिक भावविह्ल हुँदै सन्तान भेटेजस्तै भएकाे बताएका थिए ।
विद्यालयका प्रचार्य भण्डारी सहित सहप्रचार्य भिम बस्नेत र शिक्षकहरुको टिम घरघरमा पुगेर जेष्ठ नागरिकलाई सम्मान गरेको हो । ९ जनामध्ये ७ जनालाई भेटेर सम्मान गरिएको विद्यालयले जनाएको छ ।

