माथिल्लो त्रिशूली–१ को सुरुङबाट थप १३ शव निकालिए, अहिलेसम्म ३७ शव फेला

by समतल अनलाइन
19Shares

काठमाडौं। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट थप १३ वटा शव निकालिएको छ। आइतबार अडिट–३ बाट थप १३ शव निकालिएसँगै हालसम्म आयोजनाको सुरुङबाट ३७ वटा शव निकालिएको हो।

कम्पनीका अनुसार नेपाली सेना र कम्पनीको संयुक्त उद्धार टोलीले अडिट–३ बाट अपस्ट्रिम हेडरेस टनेलभित्र उद्धार कार्य गरेको थियो। कंक्रिटिङका लागि तयार पारिएको रेबरको जालमा अल्झिएका तथा हिलोमा ढल्किएको अवस्थामा रहेका शवहरू उद्धार टोलीले बाहिर निकालेको हो।

निकालिएका शवहरू नेपाली सेनाको हेलिकोप्टरमार्फत एयरलिफ्ट गरी नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्बा स्वास्थ्य परिसरमा राखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सुरुङभित्र अझै खोजी तथा उद्धार कार्य जारी छ। ग्राउन्ड सर्चका लागि सर्च डगको टोली ल्याएर खोजी भइरहेको छ। त्यसैगरी, कम्पनीको दुईतर्फी टनेलमा मिनी एक्स्काभेटर प्रयोग गरी सम्भावित स्थानहरूमा खोजी कार्यलाई निरन्तरता दिइएको छ।

गत भदौ १० गते आएको बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत तथा सम्बन्धित ४५८ जना सम्पर्कविहीन भएका थिए। बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना र आयोजनासँग सम्बन्धित टोलीले निरन्तर अभियान सञ्चालन गर्दै आएको छ।

उद्धारका क्रममा हालसम्म ३७ वटा शव फेला परिसकेको भए पनि सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्य भने अझै जारी रहेको कम्पनीले जनाएको छ।

You may also like