बुटवल । विश्व वातावरण दिवसको अवसरमा लायन्स क्लब अफ बुटवल मोडर्ल्यान्डले बुटवल उपमहानगरपालिका–१३ स्थित मिलन टोल आसपास क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
क्लबले वातावरण संरक्षण तथा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा क्लबका सदस्यहरू, स्थानीय बासिन्दा तथा समाजसेवीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सडक, सार्वजनिक स्थल तथा आसपासका क्षेत्रमा फोहोर संकलन गरी वातावरण सफा राख्न सामूहिक अभियान सञ्चालन गरेका थिए।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष अमर थापाले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सरसफाइलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्ने बताए। उनले स्वच्छ र हरित वातावरण निर्माणका लागि समुदायस्तरबाट यस्ता अभियान निरन्तर सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।
अध्यक्ष थापाले वातावरण दिवस केवल औपचारिक रूपमा मनाउने दिन नभई प्रकृति संरक्षणप्रति प्रतिबद्धता व्यक्त गर्ने अवसर भएको बताए। उनले क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा मानवीय सेवासम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिए।


