बुटवल । स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै अर्थपूर्ण सहभागिता र कार्यकारी नेतृत्वको अवसर नपाएको दलित महिला जनप्रतिनिधिहरूले गुनासो गरेका छन् । उनीहरूले अब वडा सदस्यमा मात्र सीमित नभई वडाध्यक्षलगायतका कार्यकारी पदमा पुग्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
बुधबार जागरण मिडिया सेन्टरले देवदहमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सहभागीहरूले दलित महिलाको राजनीतिक प्रतिनिधित्वलाई कोटामा मात्र सीमित नराखी निर्णय प्रक्रिया र नेतृत्व तहमा समेत स्थापित गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा संविधानसभा सदस्य कमला विश्वकर्माले संविधानको बाध्यकारी व्यवस्थाले दलित महिलाको सहभागिता सुनिश्चित गरे पनि समाजले अझै महिला नेतृत्वलाई सहज रूपमा स्वीकार गर्न नसकेको बताइन् । दलित महिला जनप्रतिनिधिको भूमिका र योगदानबारे खोजी हुन थाले पनि सामाजिक दृष्टिकोणमा अपेक्षित परिवर्तन आउन नसकेको उनको भनाइ थियो ।
“दलित महिला जनप्रतिनिधि कहाँ छन् र के गर्दैछन् भन्ने खोजी भइरहेको छ । महिला जतिसुकै सक्षम भए पनि समाजको दृष्टिकोण बदलिएको छैन, अझ प्रविधिबाट समेत हिंसा भइरहेको छ,” विश्वकर्माले भनिन् । उनले दलित महिलाहरू वडा सदस्यमा मात्र सीमित नभई कार्यकारी नेतृत्वमा पुग्नुपर्ने बताइन् ।
कार्यपालिका सदस्य लक्ष्मी विकले पार्टीले टिकट दिए आगामी निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने इच्छा व्यक्त गरिन् । विगतमा धेरै कुरा नजाने पनि जिम्मेवारी निर्वाह गरेको स्मरण गर्दै उनले अहिले अनुभव र ज्ञान बढेकाले काम गर्न सहज हुने बताइन् ।
अर्की कार्यपालिका सदस्य टिकिसरा सुनारले जनप्रतिनिधि बनेपछि सुरुका दुई वर्ष काम सिक्नमै बितेको अनुभव सुनाइन् । “एक्कासि टिकट पाएर जिम्मेवारीमा पुग्दा सुरुका दुई वर्ष काम सिक्नमै बित्यो । बल्ल काम बुझ्ने बेला कार्यकाल सकिन लाग्यो,” उनले भनिन् ।
देवदह–५ की वडा सदस्य संगीता विकले निर्वाचन जिते पनि काम गर्ने वातावरण र आवश्यक अधिकार नपाएको गुनासो गरिन् । “दलित महिला सदस्य भएर केही पनि थाहा पाइएन, हामी थापना मात्रै भयौँ । कोटामा मात्रै सीमित भइयो,” उनले भनिन्, “अब दलित सदस्यमा मात्र होइन, वडाध्यक्षमै उठ्नुपर्छ ।” उनले सामुदायिक वनको भ्रमणदेखि वडाका विभिन्न गतिविधिमा समेत विभेदको सामना गर्नुपरेको बताइन् ।
त्यस्तै, देवदह–१० की वडा सदस्य कमला दर्जीले बजेट बाँडफाँट र निर्णय प्रक्रियामा आफूहरूको भूमिका कमजोर रहेको बताइन् । देवदह–८ की दलित महिला सदस्य झपिन्द्रकुमारी विकले कार्यवाहक वडाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेको उल्लेख गर्दै आगामी निर्वाचनमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा राखिन् ।
देवदह–७ का वडा सदस्य टिकराम सुनारले विगतको तुलनामा विभेदका घटना कम भए पनि दलित समुदायको अर्थपूर्ण सहभागिता अझै आवश्यक रहेको बताए । कार्यपालिका सदस्य गोविन्द पासीले भने दलित समुदायका मुद्दा उठाउँदा स्वयं समुदायभित्रैबाट पर्याप्त सहभागिता नहुने गरेको टिप्पणी गरे ।
टोल विकास संस्थाकी अध्यक्ष सीता सुनार र राधा परियारले बाटो हिँड्दादेखि नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवस्थासम्म दलित समुदायले विभेद भोग्नुपरेको बताए ।
अधिकारकर्मी गोविन्द ठडराईले प्रत्यक्ष रूपमा नदेखिने खालका विभेदसमेत समाजमा कायम रहेको उल्लेख गर्दै कोठा भाडामा नदिने जस्ता घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे । उनले विभेद अन्त्यका लागि गैरदलित समुदायसँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
देवदह प्रेस क्लबका अध्यक्ष विष्णुप्रसाद पोखरेलले पालिकामा सीमान्तकृत समुदायको उपस्थितिसम्बन्धी तथ्यांक संकलन र उनीहरूका मुद्दा उठानमा सञ्चारमाध्यमले काम गरिरहेको बताए । पत्रकार टंकबहादुर सुनारले देवदहका विभिन्न संघसंस्थामा दलित समुदायको उपस्थिति नगण्य रहेको औँल्याए । मिडियाकर्मी पवन पौडेलले धार्मिक कार्यक्रममा हुने विभेदविरुद्ध सञ्चारमाध्यमले खबरदारी गरिरहेको बताए ।
जागरण मिडिया सेन्टरको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अधिकारकर्मी, टोल विकास संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूले आगामी निर्वाचनमा दलित समुदायको अर्थपूर्ण प्रतिनिधित्व, नेतृत्व विकास र निर्णय प्रक्रियामा सहभागिताका विषयमा छलफल गरेका थिए ।
कार्यक्रममा जागरण मिडिया सेन्टरका विनोद परियारले जानकारी दिएअनुसार छलफलपछि कार्यपालिका सदस्य लक्ष्मी सुनारको संयोजकत्वमा दलित महिला सञ्जाल देवदह गठन गरिएको छ ।

