भारत भ्रमणपछि रवि लामिछाने स्वदेश फिर्ता, ‘नेपाल–भारत सम्बन्धमा नयाँ सुरुवात भएको छ’

by समतल अनलाइन
37Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण पूरा गरी शुक्रबार अपराह्न काठमाडौं फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो भ्रमण पारदर्शी, खुला र परिणाममुखी रहेको दाबी गरे। यसपटकका कूटनीतिक भेटघाट विगतका जस्तो बन्द कोठामा नभई खुला रूपमा भएको उनको भनाइ थियो।

लामिछानेले भारतीय अधिकारीहरू तथा संयुक्त राज्य अमेरिका का प्रतिनिधिहरूसँग भएका छलफलमा नेपाली कार्यवाहक राजदूतको समेत सहभागिता गराइएको बताउँदै यसले वार्तालाई थप स्पष्ट र विश्वासयोग्य बनाएको दाबी गरे।

उनले नेपाल–भारत सम्बन्धलाई अब नयाँ ढंगबाट अघि बढाउने प्रयास भएको उल्लेख गर्दै अपारदर्शी र अस्पष्ट अभ्यासलाई अन्त्य गरी सम्बन्धलाई “रिसेट” गर्ने काम गरिएको बताए।

लामिछानेका अनुसार नेपालले अब कूटनीतिक विषयलाई सडक, संसद् र सञ्चारमाध्यमको बहसभन्दा माथि उठाएर संस्थागत ढंगले अघि बढाउन आवश्यक छ। उनले नेपाल–भारत सम्बन्धलाई केवल राजनीतिक दृष्टिकोणबाट नभई आर्थिक तथा विकास साझेदारीको दृष्टिले समेत अगाडि बढाउनुपर्ने धारणा राखे।

भ्रमणका क्रममा भारतसँग कनेक्टिभिटी, धार्मिक पर्यटन, लगानी तथा विकास सहकार्यका विषयमा विस्तृत छलफल भएको जानकारी दिँदै उनले दुई देशबीच नयाँ चरणको संवाद सुरु भएको बताए।

सभापति लामिछानेले आफ्नो लेखहिन्दुस्तान टाइम्समा प्रकाशित भएको उल्लेख गर्दै त्यसमार्फत नेपाल र रास्वपाले अपेक्षा गरेको सहकार्य र सहभागिताको दृष्टिकोण प्रस्तुत गरिएको बताए।

भारतसँग भएको संवादले भविष्यमा लगानी, आर्थिक सहकार्य तथा द्विपक्षीय सम्बन्ध विस्तारका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्दै उनले नेपाल–भारत सम्बन्धमा “नयाँ सुरुवात” भएको दाबी दोहोर्‍याए। उनका अनुसार यस भ्रमणले विगतका केही जटिलता समाधानतर्फ अग्रसर हुने आधार तयार गरेको छ।

You may also like