तिलोत्तमामा अर्जुन सापकोटाले नचाए दर्शक, गीतसँगै झुम्यो मेला

by समतल अनलाइन
41Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा गायक अर्जुन सापकोटाले आफ्नो सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिएका छन्।
तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित मेलामा बुधबार प्रस्तुति दिएका सापकोटाले आफ्ना चर्चित गीत सुनाउँदा दर्शक पनि सँगसँगै गाउने र नाच्ने गरेका थिए।
उनले ‘झलिको’, ‘बसौँ अलक्कै’, ‘पछ्यौरी लिसियो’ र ‘वनकी चरी’ लगायतका लोकप्रिय गीत प्रस्तुत गरेका थिए। उनका गीतमा दर्शकले हुटिङ गर्दै नाचेर साथ दिएपछि मेला परिसर नै संगीतमय बनेको थियो।
लोक तथा आधुनिक शैलीका गीतमार्फत दर्शकमाझ लोकप्रिय बनेका सापकोटाको प्रस्तुतिले मेलाको सांगीतिक माहोल थप उत्साहपूर्ण बनाएको थियो। उनका गीतमा युवा पुस्तादेखि अन्य उमेर समूहका दर्शकसमेत झुमेका थिए।
मंसिर ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ। मेलामा व्यापारिक तथा औद्योगिक प्रदर्शनीका साथै हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुतिसमेत राखिएको छ।

You may also like