व्यवसायीलाई तनाव व्यवस्थापन र सकारात्मक सोचको ज्ञान दिँदै स्वामी विकासानन्द बुटवलमा

by समतल अनलाइन
51Shares

बुटवल । व्यवसाय सञ्चालनका क्रममा उत्पन्न हुने मानसिक तनाव व्यवस्थापन तथा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले बुटवलमा योग, ध्यान तथा ज्ञान प्रवचन कार्यक्रम गरिएको छ ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा विकासानन्द फाउन्डेसन विश्व परिवार बुटवल शाखाको सहआयोजनामा बिहीबार कार्यक्रम गरिएको हो ।

कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष नरिश्वर शर्मा पाैडेलले योग, ध्यान र ज्ञान तथा तनाव व्यवस्थापन उद्याेगी व्यवसायीसंगै आम मानिसका लागि उपयाेगी हुने भएकाले मनोक्रान्ति दोस्रो विश्व शान्ति ध्यानमय पदयात्राकाे संयाेग मिलाएर कार्यक्रम गरिएकाे जानकारी गराए ।

‘मनोक्रान्ति दोस्रो विश्व शान्ति ध्यानमय पदयात्रा’ अन्तर्गत आयोजित कार्यक्रममा याेग गुरु स्वामी विकासानन्दले उद्योगी व्यवसायीलाई लक्षित गरी योग, ध्यान र ज्ञान प्रवचनमार्फत तनाव व्यवस्थापनका उपायबारे जानकारी गराएका थिए ।

व्यवसायमा सफलता हासिल गर्न आर्थिक तथा व्यावसायिक दक्षतासँगै मानसिक शान्ति, आत्मअनुशासन र सकारात्मक सोच पनि आवश्यक हुने विषयमा कार्यक्रममा जोड दिइएको थियो ।

संघका पदाधिकारी, पूर्वअध्यक्षहरु सहित सदस्य उद्याेगी व्यवसायी सहभागी उक्त कार्यक्रममा सहभागीलाई योग तथा ध्यानको अभ्याससँगै मानसिक सन्तुलन कायम राख्ने र तनावमुक्त जीवनशैली अपनाउने विषयमा सहजीकरण गरिएको संघका महासचिव बसन्तप्रसाद ढकालले बताए ।

You may also like