तातो लहरको उच्च जोखिम: १४ जिल्लामा सतर्क रहन जल तथा मौसम विभागको आग्रह

by समतल अनलाइन
79Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तराईका जिल्लाहरूमा बढ्दो तापक्रमलाई मध्यनजर गर्दै तातो लहर (लु) को विशेष बुलेटिन जारी गरेको छ। आगामी तीन दिनसम्म तराईका विभिन्न जिल्लामा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने सम्भावना रहेकाले विभागले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

उच्च जोखिममा १४ जिल्ला विभागले जारी गरेको सूचनाअनुसार बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट-सुस्तापश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा तातो हावा र लहर चल्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

त्यस्तै, कञ्चनपुर, कैलाली, नवलपरासी (बर्दघाट-सुस्तापूर्व), चितवन, सुनसरी, मोरङ र झापा गरी सात जिल्लाका नागरिकलाई मौसमसम्बन्धी अध्यावधिक सूचनामा ध्यान दिन भनिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार हाल भैरहवाको तापक्रम ४१ डिग्री र नेपालगञ्जको ४० डिग्री सेल्सियस मापन गरिएको छ। आगामी तीन दिनसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा मध्यम खालको तातो लहर चल्ने सम्भावना छ।

गर्मीबाट जोगिने उपायहरू तातो हावा र लहरका कारण मानिसमा थकान, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्छन्। विभागले यस्तो अवस्थाबाट बच्न निम्न उपायहरू अपनाउन सुझाव दिएको छ:

चिसो स्थानमा रहने: अत्यधिक गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा रहने, चर्को घाममा बाहिर ननिस्कने।

खानपान: पटकपटक पानी तथा झोलिलो पदार्थ (जुस, सर्वत आदि) प्रशस्त पिउने।

पोसाक: बाहिर निस्कँदा सुतीका हल्का लुगा लगाउने र टाउको छोप्न टोपीको प्रयोग गर्ने।

स्वास्थ्य सतर्कता: स्वास्थ्यमा कुनै समस्या देखिए तत्काल स्वास्थ्यकर्मीसँग सम्पर्क गरी परामर्श लिने।

विभागले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना भएकाले विशेष सावधानी अपनाउन सबैमा आग्रह गरेको छ।

You may also like