बजेटअघि आयात गरिएका बीवाईडी विद्युतीय सवारीबारे साइमेक्स इन्कको स्पष्टिकरण: ‘ कानुनअनुसार आयात गरिएको हो

by समतल अनलाइन
43Shares

काठमाडौं । बीवाईडी विद्युतीय सवारीसाधनको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले बजेटअघि आयात गरिएका विद्युतीय सवारीसाधनबारे सार्वजनिक रूपमा उठेका प्रश्नप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार जारी विज्ञप्तिमार्फत कम्पनीले नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका सबै विद्युतीय सवारीसाधन प्रचलित कानुन, भन्सार नियमावली र निर्धारित प्रक्रियाअनुसार आयात गरिएको स्पष्ट पारेको छ।

कम्पनीका अनुसार सञ्चारमाध्यममा उल्लेख गरिएका सवारीसाधन कुनै विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थामार्फत आयात गरिएका होइनन्। आयातका क्रममा कुनै प्रकारको विशेष छुट वा करसम्बन्धी अनुचित लाभ नलिइएको तथा त्यस्तो सुविधा नमागिएको समेत कम्पनीले जनाएको छ।

ग्राहकसँग गरिएको पूर्वप्रतिबद्धता पूरा गर्न र विद्युतीय सवारीसाधनको बढ्दो मागलाई सम्बोधन गर्न गाडी आयात गरिएको कम्पनीको भनाइ छ। बीवाईडीको उत्पादन तालिका, ढुवानीको उपलब्धता, व्यावसायिक योजना तथा यातायात व्यवस्थापनका आधारमा आयात प्रक्रिया अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ।

साइमेक्सले केही सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा पुगे पनि तिनको भन्सार जाँचपास प्रक्रिया अझै सम्पन्न नभएको जानकारी दिएको छ।

कर परिवर्तनबाट बच्न खोजिएको वा सरकारी निकायसँगको समन्वयमा अनुचित लाभ लिइएको भन्ने आरोपलाई कम्पनीले असत्य र निराधार भएको दाबी गरेको छ। यस्ता आरोपले कम्पनीको प्रतिष्ठामा असर पुर्‍याउने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

कम्पनीले आवश्यक परे आयात, भन्सार, ढुवानी तथा भुक्तानीसम्बन्धी सम्पूर्ण अभिलेख सम्बन्धित निकायलाई उपलब्ध गराउन तयार रहेको बताउँदै कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

साथै, आधिकारिक तथ्य र अभिलेखको पुष्टि नगरी निष्कर्षमा नपुग्न तथा भ्रम सिर्जना गर्ने सामग्री प्रकाशन नगर्न सञ्चारमाध्यम र सरोकारवालालाई आग्रह गरेको छ।

साइमेक्सले विद्युतीय सवारीसाधन क्षेत्रले स्वच्छ ऊर्जा र दिगो यातायात प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै तथ्यमा आधारित समाचार सम्प्रेषण र जिम्मेवार सार्वजनिक बहसको आवश्यकता औँल्याएको छ।

You may also like