बुटवल।मुद्रण उद्योग क्षेत्रको सुदृढीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिँदै मुद्रण उद्योग संघ रुपन्देहीले पाल्पाको ढोलीमारा होमस्टेमा आयोजना गरेको दुई दिने रणनीतिक योजना कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । उद्योगका चुनौती, भावी योजना र संस्थागत विकासबारे छलफलसहित सम्पन्न गोष्ठी आइतबार समापन भएको हो ।
कार्यक्रमको नेपाल मुद्रण ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष बिष्णु प्रसाद तिवारीले औपचारिक उद्घाटन गर्दै नया नया प्रविधि र सिकाई मानव जिवनमा निरन्तर जरुरी रहने बताए । समय अनुसार चल्न सक्दा नै सफलता मिल्ने भन्दै उनले ब्यवसायलाई लग्न आग्रह गरे । मानव जीवनमा ढिला भएपनि सत्यको जित हुने तर्क पेश गर्दै उनले सधै सकारात्मक सोचका साथ मानिस अघि बढ्नुपर्ने बताए ।

कार्यशाला गोष्ठीमा प्रोफेसर राजेन्द्र लम्सालले सहजिकरण गर्दै तालिममा लिएका र बुझेका ज्ञान ब्यवहारमा उतार्न आग्रह गरे । नेतृत्व र क्षमता विकासबारे विभिन्न उदाहरण र तर्कहरु पेश गरे । नेतृत्व जन्मजात हुदैन यो जन्माईन्छ भन्ने उदाहरण दिदै सफल नेतृत्वका लागि पेशामा ईमान्दारिता, निष्ठा, सकारात्मक मनोवृत्ति र संचार महत्वपूर्ण हुने उनले बताए । संस्थालाई सबल र ब्यवस्थित गर्दै जानुपर्ने सुझाव दिदै पारदर्शी बनाउन आर्थिक नियमावली निर्माण गर्न समेत आग्रह गरे ।
कार्यक्रममा संघका अध्यक्ष अरुण पन्थीले संस्थाको वार्षिक कार्ययोजना अनुसार नै कार्यशाला गोष्ठी निर्माण गरिएको बताए । प्लान अफ एक्सन र त्यसको जिम्मेवारी, बजेट बिनियोजन गर्ने काम सम्पन्न भएको उनले बताए । संगठन सदस्य र कार्यका हिसाबमा रुपन्देही शाखा अग्रणी भुमिकामा रहेको भन्दै केन्द्रिय नेतृत्व जन्माउन समेत सफल रहेको उनले बताए ।
कार्यक्रममा संस्थापक खेम प्रसाद लुईटेल, पूर्व अध्यक्ष कृष्ण पराजुली, केन्द्रिय सदस्य निर्मल अर्याल, पशुपति पौडेल, पूर्वअध्यक्ष लिला लुईटेल, प्रदेश अध्यक्ष घनश्याम घिमिरेले ब्यवसायमा विविधिकरण, सामाजिक संजालको प्रयोग, गुणस्तर सेवा, संस्थागत ग्राहकलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजु घिमिरेले दुई दिने कार्यशालामा संस्थाका सकारात्मक पक्ष, कमजोरी, अवसर, चुनौतीको वृहत रुपमा छलफल गरि योजना निमार्ण गरिएको बताए । अहिले उद्योगमा देखिएको अस्वास्थ्य प्रतिस्प्रर्धा, प्रविधिमैत्री तालिम अभाव, जनशक्ति उत्पादनलाई आगामी दिन योजना बनाएको उनले बताए । महासचिव नर बहादुर रानाले संस्थाको सदस्यता विस्तार, प्रविधि र सहज पहुचमा जोड दिएको बताए ।








