काठमाडौँ । परराष्ट्र मन्त्रालयले आज नेपाल परराष्ट्र सेवा दिवस मनाएको छ । दिवसका अवसरमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले शुभकामना व्यक्त गर्दै तीव्र रूपमा परिवर्तन भइरहेको विश्व परिवेशमा परराष्ट्र सेवाको विशिष्ट भूमिका रहेको बताएका छन् ।
उनले परम्परागत कूटनीतिलाई सशक्त आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसबाट देशको समृद्धि र नेपाली जनताको हित प्रवर्द्धन गर्न सकिने बताए । साथै प्रभावकारी सार्वजनिक कूटनीतिमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको गरिमा र छवि अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री खनालले राष्ट्रिय सार्वभौमिकता, राष्ट्रिय हितको संरक्षण तथा समृद्धि हासिल गर्ने दिशामा परराष्ट्र मन्त्रालयलाई अग्रपङ्क्तिको सुरक्षा कवचका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता पनि उल्लेख गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको परराष्ट्र सेवामा योगदान पुर्याएका पूर्व अधिकारीप्रति सम्मान व्यक्त गरेका थिए । उनले युवा कूटनीतिज्ञ तथा परराष्ट्र सेवामा आबद्ध सबैलाई व्यावसायिक रूपमा सक्षम, बदलिँदो परिस्थितिअनुसार अनुकूल र राष्ट्रिय हित संरक्षण तथा प्रवर्द्धनमा समर्पित हुन आग्रह गरे ।
कार्यक्रमका क्रममा नवप्रवेशी परराष्ट्र सेवा अधिकारीलाई स्वागत गरिएको थियो भने अवकाशप्राप्त अधिकारी तथा कर्मचारीलाई राष्ट्रप्रति पुर्याएको योगदानका लागि सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा मन्त्रालयका अधिकारी, पूर्व मुख्यसचिव, पूर्व परराष्ट्र सचिव, पूर्व राजदूत, परराष्ट्र सेवाका अधिकारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।








