डीसीसी प्रिमियर लिग–२०८३ को अक्सन सम्पन्न, जेठ ९ देखि बुटवल देवीनगरमा प्रतिस्पर्धा सुरु हुने

by समतल अनलाइन
52Shares

बुटवल । देवीनगर क्रिकेट क्लब (डीसीसी) को आयोजनामा हुने सिटी एक्सप्रेस प्रिजेन्ट्स डीसीसी प्रिमियर लिग–२०८३ (सिजन–२) को अक्सन कार्यक्रम सम्पन्न भएको छ। होटल पौवा, योगीकुटीमा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको क्लबले जनाएको छ।
कार्यक्रममा सहभागी टोली मालिकहरूले खेलाडी छनोट तथा खरिद प्रक्रिया पूरा गरेका थिए। प्रतियोगितामा प्रिन्ट हब किंग्स, एसजिए माभेरिक्स, मेगा राइनोज, एपीएस युनाइटेड र सिद्धार्थ रोयल गरी पाँच टोली सहभागी छन्। प्रत्येक टोलीका लागि रु. १ लाख ५० हजार को पकेट मनी व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

क्लबका अनुसार प्रतियोगिता जेठ ९ गतेदेखि देवीनगर रंगशाला मिनी ग्राउण्डमा सञ्चालन हुनेछ। लिग चरणअन्तर्गत प्रत्येक टोलीले अन्य सबै टोलीसँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन्। त्यसबाट प्राप्त अंकका आधारमा उत्कृष्ट टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन्।
प्रतियोगिता सञ्चालनका लागि विभिन्न संघसंस्था तथा कम्पनीहरूले सहयोग गरेका छन्। सहयोगी संस्थामा ई–ड्राइभ नेपाल, बुटवलको फुल्की, नेपाथ्ये कलेज, मञ्जुश्री फाइनान्स, कोडा पल्स ग्लोबल, करेन्ट नुडल लगायतका संस्था रहेका छन् ।

क्लबका सचिव गणेश पाण्डेयले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै प्रतियोगिताले स्थानीय क्रिकेटको विकास र खेलाडीहरूलाई अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

वि.सं. २०७६ मा पाँच सदस्यबाट स्थापना भएको देवीनगर क्रिकेट क्लबमा हाल ९२ सदस्य आबद्ध छन्। क्लबले विगतदेखि नै क्रिकेट गतिविधि सञ्चालन गर्दै खेल क्षेत्रको विकासमा निरन्तर काम गर्दै आइरहेको जनाएको छ।

You may also like