काठमाडौँ ।हुम्लाको चङ्खेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेमा रहेको आधारभूत विद्यालयको भवनमा ठूलो क्षति पुर्याएको छ ।
अचानक परेको असिनापानीसँगै झरेको पहिरोले विद्यालयको भौतिक संरचना भत्काउनुका साथै स्थानीयको खेतीयोग्य जमिन र गोठहरू समेत नष्ट गरेको चङ्खेली–५ का स्थानीय बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिएका छन् ।
पहिरोको चपेटामा परी चङ्खेली–५ का वडाध्यक्ष हर्कधन तामाङ र अर्का स्थानीय धनसिंह तामाङका गोठहरू पुरिएका छन् । ती गोठमा बाँधिएका भेँडाबाख्राहरू समेत पहिरोमा परेर मरेका छन् । पहिरोले गोठ पुरे पनि त्यहाँ भएको क्षतिको यकिन र विस्तृत विवरण भने अझै आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताएका छन् ।
घटनाबारे थप बुझ्न र उद्धारका लागि प्रहरीको एउटा टोली पहिरोग्रस्त क्षेत्रतर्फ प्रस्थान गरिसकेको उनले जानकारी दिएका छन् । हुम्लाको सदरमुकाम सिमकोटबाट उत्तर–पूर्वी दिशामा अवस्थित चङ्खेली गाउँपालिका भित्र तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चारवटा गाउँहरू पर्दछन् । गाउँपालिकाको मुख्य केन्द्र पिप्लाङबाट निकै दुर्गम र टाढा रहेको नेप्का गाउँ पुग्नका लागि मात्रै करिब पाँच घण्टाको पैदल यात्रा तय गर्नुपर्छ ।








