प्रदेश १ को संसदीय टोली र प्रदेश ५ का सांसदहरुबीच अन्तरक्रिया

by समतल अनलाइन

बुटवल । प्रदेश नं ५ का प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरु र प्रदेश नं १ को संसदीय समितिको टोलीबीच आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरप्रदेश भ्रमणका क्रममा प्रदेश नं ५ को प्रदेशसभा सचिवालयमा आएको प्रदेश नं १ को सुशासन तथा विकास समितिको टोलीसँग बुधबार संसदीय अभ्यास र अनुभवबारे अन्तरक्रियात्मक छलफल भएको हो ।

कार्यक्रममा प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्ती ले प्रदेशसभाले हाल सम्म गरेका गतिबिधिहरु बारे जानकारी गराउदै अन्तरप्रदेश भ्रमणले प्रदेशसभाको काम कार्बाहीलाई थप व्यवस्थित बनाउन मद्धत मिल्ने बिश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्यहरुले आफ्नो गरिमा र महत्वलाई बुझेर सोही अनुरुपको व्यवहार गर्नुपर्नेमा जोड दिदै सभामुख घर्तीले इतिहासले दिएको जिम्मेवारी र दायित्व पुरा गर्न सबैले आ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवस्यकता औल्याए ।

उपसभामुख कृष्णी थारुको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रदेश नं १ का सुशासन तथा योजना समितिका सभापति अर्जुन राई,प्रदेश नं ५ का प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्मा,अर्थ,उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने,कृषि,वन तथा वातावरण समितिका सभापति विजय बहादुर यादव,प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठ,प्रदेश नं १ का प्रदेशसभा सदस्य तेजमान कन्दङवा लगायतले आ आफ्ना समितिले गरेका अभ्यासका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको सञ्चालन प्रदेशसभा सचिवालयका उप सचिव श्याम श्रेष्ठले गरेका थिए ।

 
 
  
 

You may also like