पर्यटन प्रवर्धनबारे लुम्बिनीमा छलफल, ग्रेटर लुम्बिनीको बुद्धसर्किटलाई गतिशिल बनाऔं

by समतल अनलाइन

अमृत गिरी
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा पारेर बुद्ध–सर्किटमा समावेश भएका यहाँका क्षेत्रहरुको उचित विकास गर्न सकेमात्रै समग्र पर्यटन विकास हुन सक्ने कुरामा सोमबार लुम्बिनीमा आयोजित कार्यक्रममा जोड दिइएको छ ।

लुम्बिनी र बुद्धकालिन सभ्यताका नेपालका सबै क्षेब तथा प्रमुख हिन्दु धर्मका क्षेत्रहरुलाई जोडेर तयार पारिएको वृहत्त सर्किट नै पर्यटन विकासको खास आधार रहेको भन्दै कार्यक्रमका सहभागीहरुले त्यसका लागि सरोकारवाला सबैको सहकार्यको खाँचो रहेको औल्याए । सहभागीहरुले लुम्बिनीको गुरुयोजना चाँडो सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए ।

लुम्बिनी भ्रमण वर्ष तथा आसन्न नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार लुम्बिनीमा आयेजना गरेको सरोकारवालाहरु बीचको छलफल तथा अन्तरक्रियामा सहभागीहरुले बुद्ध सर्किटलाई गतिशिल बनाउनुपर्नेमा जोड दिएका हुन् । प्रदेशको उद्योग, वन, पर्यटन, वातावरण मन्त्रालयले यहाँका विज्ञहरु, संस्कृतिविद्हरु, लुम्बिनी विकास कोष, पर्यटन व्यवसायी, यातायात व्यवसायी, होटल व्यवसायी, स्थानीय समुदायका अगुवाहरु समेतलाई लुम्बिनीमा भेला पारेर लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि छलफल गराएको थियो । सोही कार्यक्रमका सहभागीहरुले सबैको सहकार्यमा बुद्ध सर्किटलाई गतिशिल बनाउनुपर्ने कुरामा साझा विचार व्यक्त गरेका हुन् ।

सो अवसरमा उद्योग, वन, पर्यटन, वातावरण मन्त्री लिला गिरीले बुद्ध जन्मस्थललाई केन्द्रमा राखेर समग्र सर्किटको विकास गर्ने कुरा प्रदेश सरकारले योजनाबद्ध कामको थालनी गरिसकेको बताए । त्यसलाई अझ प्रभावकारी बनाउन निजी क्षेत्र र सरोकारवालाहरुसंग सहकार्य गरिने बताए । उनले लुम्बिनी, बुद्ध संगसम्बन्धित तराईका जिल्लाका सबै स्थान र रुपन्देहीको रोहिणी नदी र त्यसको बुद्धकालिन सभ्यता र बुद्धबल्लीको बुटवल सभ्यतालाईसमेत समावेश गर्न सुझाव दिइसकिएको बताए ।

मन्त्री गिरीले लुम्बिनी आउने स्वदेसी र विदेशी पर्यटकहरुका लागी हवाई टिकटमा एकरुपता ल्याउनु आवश्यक रहेको बताए । लुम्बिनसँगै देवदह, रामग्राम, तिलौराकोट लगाएतका बौद्धस्थलहरुको पनि समुचित बिकास गर्नुपर्ने कुरामा जोड दिँदैे उहाँले रुपन्देहीको रोहीणी नदीको गौतम बुद्धसंग ठुलो महत्व रहेको भन्दै त्यसको अस्तित्व हराउदैँ गएकोमा चिन्ता ब्यक्त गरे । कार्यक्रममा प्रदेशसभा सदस्य फकरुद्धिन खाँले लुम्बिनी क्षेत्रको विकासका लागी प्रदेश सरकारलाई जिम्मा दिनुपर्ने बताए । उनले लुम्बिनी भनेको नेपालको मात्र नभएर विश्वको साझा भएको बताए । उनले पर्यटन ब्यवसायलाई उद्योगको रुपमा मान्यता दिनुपर्ने आवश्यकता रहेको बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी भिक्षु मैत्तेयले लुम्बिनीको बिकास सोंचे अनुरुप तिब्र गतीमा जान नसकेको बताए । उनले लुम्बिनीको गुरुयोजना सकाउन अन्र्तराष्ट्रिय स्तरसंग जान आवश्यक रहेको बताए । लुम्बिनीमा विश्व स्तरको मेडिटेशन कार्यक्रम गर्ने तयरी गरिरहेका स्वामी आनन्द अरुणले बुद्धजयन्तीलाई ध्यान दिवसका रुपमा मनाउनु पर्ने बताए । उनले लुम्बिनीलाई ध्यान दिवसका रुपमा मनाउन अन्तर्राष्ट्रिय स्तरले सहयोग गरेको पनि बताए । यो कार्यक्रमका बारेमा नेपाल सरकारसमक्ष प्रस्ताव गरिएपनि अझै टुंगो नलागेको बताए ।

गैंडहवा गाउँपालिका प्रमुख बच्चु केवटलगायतले बोल्दै पर्यटन विकासका लागि सबैको सहकार्य हुनुपर्नेमा जोड दिए । त्यसअवसरमा स्थानीय युवा, अगुवा, व्यवसायीहरुले स्थानीयको अपनत्व हुनेगरी प्रभावकारी कार्यक्रम बनाउनुपर्ने सुझाव दिएका थिए । लुम्बिनीको विषयमा लामो समयदेखि सोध गरिरहनु भएका हरीध्वज राईले प्रस्तुत गर्नुभएको कार्यपत्रमा संस्कृतवीद् बसन्त विडारी र डा.सारदा पौडेलले टिप्पणी गरेका थिए ।

लुम्बिनीका अध्येता हेमबहादुर विष्टले प्रस्तुत गर्नुभएको कार्यपत्रमा संस्कृतवीद् डा.गितु गिरी र पत्रकार डी. आर घिमिरेले टिप्पणी गरेका थिए । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. राधा वाग्लेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण मन्त्रालयको भ्रमण वर्षका सदस्य सचिव टुकराज पाण्डेले गरेका थिए ।

बहुउपयोगी बुद्ध सर्किट
अहिले चर्चामा रहेको बुद्ध–सर्किटलाई बहुउपयोगी पनि मानिएको छ । यो साकार हुन सक्यो भने लुम्बिनीमा आउने पर्यटकलाई धेरै दिन सम्म टिकाउन र अन्यत्र डुलाउन सकिन्छ । लुम्बिनीलाई केन्द्रमा राख्दै कपिलवस्तु, रुपन्देही र नवलपरासीका बुद्धकालिन सम्पदाहरुलाई समेटिएकले पनि यो बहुउपयोगी रहेको विज्ञहरुको भनाइ छ । नेपालका पूर्व–पश्चिम, उत्तर–दक्षिणका हिन्दु–बौद्धसंग सम्बन्धित क्षेत्रहरुलाई सर्किटको रुटमा समावेश गरेर विशेष सर्किट, वर्तमान अवस्था र त्यसका सम्भावनाहरुलाई उल्लेख गरिएकाले यो सम्भावनायुक्त रहेको संस्कृतिविद्हरुको पनि टिप्पणी छ ।

लुम्बिनीदेखि कैलास मानसरोवर सम्मको रुट, चीनले सुरु गरेको वान वेल्ट वान रुटको रेशम मार्गमासमेत यो बुद्ध सर्किटको रुटलाई जोडिएको छ । रेशम मार्गको केही भाग यहीँ क्षेत्रमा पनि पर्दछ । बुद्ध आफैले जीवनमा एकपटक लुम्बिनी (बुद्ध जन्मभूमि) का साथै भारतमा रहेका बोधगया (ज्ञानप्राप्त भूमि), सारनाथ (पहिलोपटक शिष्यलाई ज्ञान दिएको भूमि) र कुशीनगर (परमधाम गमन) को भ्रमण गर्नुपर्ने बताएका थिए । यिनै क्षेत्रलाई समेटेर भारतले समेत बुद्ध सर्किट बनाइरहेको छ ।

 
 
  
 

You may also like