तिलकले ‘तोडे’ कम्युनिस्ट किल्ला, जीतमा यस्तो थियो कारण

by समतल अनलाइन

धरान। कांग्रेसका तिलक राई धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । उनले २८ वर्षदेखिको ‘कम्युनिस्ट किल्ला’ भत्काएका हुन् । उनी अघिल्लो निर्वाचनमा भने तत्कालीन एमालेका तारा सुब्बासँग पराजित भएका थिए । तत्कालीन मेयर सुब्बाको २०७५ साउन १ गते निधन भएको थियो ।

सुनसरी क्षेत्र नम्बर १ मा पर्ने धरानमा २०४८ सालदेखि नेकपाले जित्दै आएको थियो । कांग्रेसले पहिलो पटक २ हजार ७ सय ९५ मतअन्तरले नेकपा उम्मेदवारलाई पराजित गरेको हो । सोमबार सार्वजनिक उपनिर्वाचनको मत परिणामअनुसार तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गरे ।
संघीय लिम्बुवान राष्ट्रिय मञ्चका उम्मेदवार अमर इजमले १ हजार १ सय ३१ मत ल्याएका छन्। ९२ हजार ८ सय ५३ मतदाता रहेको धरानमा ५४ हजार ८ सय ४८ मत खसेको थियो। १ हजार १ सय ४१ मत बदर भएको थियो ।

पूर्व एमाले र माओवादी एकतापछि बनेको नेकपा उम्मेदवारविरुद्ध तिलकले समाजवादी, राप्रपा र नेकपाकै केही असन्तुष्ट मत प्राप्त गर्न प्रयास गरेका थिए । कांग्रेस, समाजवादी, राप्रपा, खम्बुवान र नेकपाकै कार्यकर्ताको मतबाट आफू जितेको भन्दै उनले नव निर्वाचित मेयर राईले मतदातालाई धन्यवाद दिएका छन्।

आफूले नमुना विकास गरी भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता उनले जनाएका छन् । कुनै सुविधा नलिई सामाजिक कार्यमा लाग्ने घोषणा समेत उनले गरेका छन् ।
नेकपा उम्मेदवार प्रकाशले तिलकलाई माला र खादा लगाएर बधाई दिए । आफूले तिलकलाई सहयोग गर्ने उनले बताए ।

धरानमा कांग्रेसबाट पाँच वडाध्यक्षसहित जनप्रतिनिधिको संख्या २६ पुगेको छ । नेकपाबाट निर्वाचित जनप्रतिनिधिले आर्थिक अनियमितता गरेको र विकासका ठूला आयोजनालाई लथालिंग बनाएको भन्दै उनले यसविरुद्ध बोल्दै आएका थिए । अढाई वर्षमा जनप्रतिनिधिको कामकारबाहीप्रति असन्तुष्ट मतदाताले ‘परिवर्तनको पक्षमा तिलकलाई मौका दिएको’ स्थानीय बताउँछन् ।
वडाध्यक्षमा एक मतको अन्तर
धरान उपमहानगरपालिका–७ को वडाध्यक्षमा नेकपाका जीवनराज सुवेदी निर्वाचित भएका छन् । उनले कांग्रेस उम्मेदवार सुवर्णमोहन पालिखेलाई एक मतअन्तरले पराजित गरेका हुन् । तत्कालीन वडाध्यक्ष भूपेन्द्रराज मोक्तानको निधनपछि यहाँ पद रिक्त थियो । अन्नपूर्ण पोष्टबाट

 
 
  
 

You may also like