बलात्कार आरोपमा ‘सिद्धबाबा’ आइसीयुबाटै पक्राउ

by समतल अनलाइन

मोरङ । बलात्कारको आरोपमा सिद्धबाबा नामले चर्चित कृष्णराज गिरी बिराट नर्सिङ होम बिराटनगरको आइसीयुबाट पक्राउ परेका छन् ।

बलात्कार आरोपित सिद्धबाबालाई सोमबार विहानै आइसीयुबाटै पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । जिल्ला प्रहरी कार्यलय सुनसरीले उनीविरुद्ध बुधबार मुद्दा दायर गरेपछि शुक्रबार पक्राउ गर्न अदालतबाट अनुमति पाएको थियो ।

मुद्दा दायर भएपछि प्रहरीले उनको अनुसन्धान गर्न बिहीबारदेखि नै टोली खटाएको थियो । त्यो सुइँको पाए लगत्तै उनी शुक्रबार बिहान विराट नर्सिङ होमको आइसीयुमा भर्ना भएका थिए । पक्राउ गर्ने योजनासहित आइतबार बिहान प्रहरी अस्पताल पुगेपछि उनलाई आइसीयुमा भर्ना गरिएको स्रोतले जनाएको छ ।

उनलाई छात्ती, मुटु, प्रोस्टेट तथा मिर्गाैलाको पत्थरीको समस्या रहेको अस्पतालले बताउँदै आएको थियो । तर आइतबार बिहान एकाएक मुटु र छातीमा समस्या देखिएको भन्दै आइसियुमा भर्ना गरिएको अस्पतालको भनाइ छ । बलात्कार जस्तो गम्भीर मुद्दामा त्यसमाथि हाइ प्रोफाइलका मान्छे पक्राउ गर्दा सबै कानुनी प्रक्रिया पूरा गरेपछि मात्र पक्राउ गर्ने प्रहरीले योजना बनाएको थियो ।

गिरीले आफ्नै अनुयायी काठमाडौं घर भएकी एक महिलालाई कात्तिक ४ गते आश्रममा भेट्न बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ । गिरीविरुद्ध शुरुमा काठमाडौं प्रहरी परिसरमा उजुरी परेको थियो । त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले घटनाबारे अनुसन्धान गरेर ‘मुद्दा’ जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा दिएको हो ।

मुद्दा दर्ता हुना साथ गिरीलाई योजना बनाएर फसाउने खोजिएको अनुयायीहरूको जिकिर गरेका छन् । तर गिरी र आरोप लगाउने महिलाबीच भएको फोन वार्ताको रेकर्ड भनिएको अडियो सार्वजनिक भएपछि घटनाले नयाँ मोड पनि लिएको छ ।

गिरीले सो अडियोमा आइन्दा कुनै महिलालाई यौनहिंसा नगर्ने प्रतिबद्धता गरेको सुन्न सकिन्छ । उक्त अडियो षडयन्त्रकै एक रूप भएको र त्यसमा रहेको पुरुष आवाज गिरीको नभएको उनका अनुयायीको दावी छ ।

 
 
  
 

You may also like