नेकपा महासचिव पौडेलद्धारा आफनो निर्वाचन क्षेत्रका आयोजना प्रमुखहरुलाई र्याखर्याख्ती

प्रदीप आचार्य
बुटवल । २ दिनदेखि आफ्नो निर्वाचन क्षेत्रका थुप्रै कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुंदै आएका नेकपा महासचिव विष्णु पौडेल बुधवार दिउसोको कार्यक्रममा भने फरक शैली र प्रस्तुतीमा देखिनु भयो । आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालित विकासे आयोजनाहरुको प्रगति र चुनौतीका विषयमा जानकारी लिन बुटवल उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको सञ्चालन महासचिव पौडेल आफैले गर्नुभयो । न कुनै सभापति न अतिथिहरुको लामो लर्को, महासचिव पौडेल आफैले कार्यक्रमको सञ्चालन गरे र आयोजना प्रमुखहरुलाई र्याखर्याख्ती पार्नुभयो ।

कार्यक्रममा बुटवल खानेपानी संस्थानका प्रतिनिधि देखि प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरी समेतले महासचिव पौडेलको निर्वाचन क्षेत्रमा सञ्चालित आयोजनाहरुको कार्यप्रगति र चुनौतीहरुका विषयमा पालैपालो प्रस्तुती गर्नुभयोे । १७ वटा कार्यालय प्रमुखहरुले आफ्नो कार्यप्रगतिका विषयमा जानकारी दिंदा महासचिव पौडेलले केही आयोजनाहरुको कार्यसम्पादनप्रति तत्कालै आपत्ति जनाउनुभयो । बुटवल उपमहानगरपालिका भित्र खानेपानीको हाहाकार हुंदा र आफुले प्रशस्त बजेटको ब्यवस्था गर्दा पनि खानेपानी संस्थानले झुम्सा खानेपानी आयोजना सम्पन्न गर्न नसकेर निरीहता प्रस्तुत गरेको भन्दै दुःख ब्यक्त गर्नुभयो। उहाले खानेपानीको इन्टेक निर्माण गर्ने महत्वपूर्ण काम छोडेर हत्तपत्त पाइप खरिद गरेर डम्पिङ् गर्ने संस्थानको ब्यवहारप्रति आशंका ब्यक्त गर्नुभयो ।

नगरपालिकाको वडा नं ७ र ८ मा देखिएको खानेपानीको चरम अभाव पूर्ति गर्न संस्थान असफल भएकाले महासचिव पौडेलले धागो कारखानामा गाडीएका दुइ ठूला डिप वोरिङ्को पानी वितरण गरेर तत्कालका लागि समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो ।
महासचिव पौडेलले आफ्नो निर्वाचन क्षेत्रभित्रका आयोजनाहरुको जानकारी लिने कार्यक्रम राखेको सूचना पाएपछि औद्यागिक क्षेत्र ब्यवस्थापन लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेत आफै सहभागी भएर मोतिपुर औद्योगिक क्षेत्रको प्रगति र समस्याका विषयमा जानकारी दिनु भएको थियो । अध्यक्ष बस्नेतले एआइएको रिपोर्ट आएपछि तत्काल ५० करोड रुपैया लगानी गर्ने गरि आफु तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । महासचिव पौडेलले एक महिनाभित्रै एआएको रिपोर्ट पास गरेर पठाउने प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष वस्नेतले १०९ विगाहा जमिनमा वसोवास गरिरहेका रानिगञ्जवासीलाई मोतिपुर तर्फको नीजि जग्गा लालपूर्जा सहित उपलब्ध गराएर समस्याको समाधान गर्ने तयारीमा रहेको जानकारी दिंदा कार्यक्रममा सहभागीहरुले तालि बजाएका थिए । रानीगञ्जमा रहेको अब्यवस्थित वस्तिका कारण मोतिपुर औद्योगिक क्षेत्र अगाडी बढ्न सकेको थिएन ।

अन्तरराष्ट्रिय सम्मेलन केन्द्र र अन्तरराष्ट्रिय प्रदर्शनी स्थलका विषयमा आयोजना प्रमुख श्रीधर लामाले आयोजनाको प्रगती र समस्याका विषयमा जानकारी दिंदै आगामी ३ वर्षभित्र दुवै आयोजनाहरु सम्पन्न गरेर बुटवल मण्डप सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनु भयो । आयोजना प्रमुखले रुख कटानका लागि बन मन्त्रालयले छिटो अनुमति नदिंदा ढिला भएकोे बताएपछि महाससचिव पौडेलले तत्काल बन कार्यालयका प्रमुखलाई आफ्ना भनाई राख्न आग्रह गर्नु भएको थियो । डिभिजन बन कार्यालय रुपन्देहीका प्रमुख इन्द्र पछाईले डकुमेन्ट पुरा गरेर आएका आयोजनाहरुलाई रुख कटानका नाममा कहिल्यै ढिलासुस्ती नगरिएको जवाफ दिनुभयो । उहाले बुटवल सहित सिंगो रुपन्देही जिल्लामा महत्वपूर्ण र राष्ट्रिय गौरवका आयोजनाहरु सञ्चालनमा रहेकाले यस्ता आयोजनाहरुलाई बन मन्त्रालयको तर्फबाट कुनै समस्या नपारिने प्रतिबद्धता जनाउनुभयो ।
शंकरनगरमा निर्माण हुने सरकारी मेडिकल पूर्वाधार निर्माण आयोजनाका निर्देशक मान बहादुर घिमिरेले आयोजनाको गुरुयोजना निर्माण र माटो परिक्षणको काम जारी रहेको जानकारी दिंदै तत्काल डिपिआर निर्माणको काम थालनी गर्ने बताउनु भयो । बन मन्त्रालयले इआए गर्ने सहमति समेत दिएकाले अब तत्काल काम अगाडी बढाउने प्रतिबद्धता जनाउनु भयो ।

विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सञ्जय मिश्रले बुटवल क्षेत्रमा भइरहेका प्राविधिक समस्या र सरकारले गर्नुपर्ने सहयोगका विषयमा प्रष्ट विचार राख्नुभयो। महासचिव पौडेलले समस्या समाधानका लागि प्रतिबद्धता जनाउनु भयो । प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले महासचिव पौडेलकै परिकल्पनामा अगाडी सारिएका बेलवास–बेथरी सडक,लुम्विनी गुरुयोजना क्षेत्र परिक्रमा पथ,वेलवास–नुवाकोट सडक,बुटवलको बसपाक पछाडी देखि जोगिकुटीसम्मको ४ लेन सडक र राजमार्ग चौराहादेखि शंकरनगर सरकारी मेडिकल कलेजसम्मको सडक ४ लेन गर्ने आयोजनाहरुमा प्रशस्त बजेट छुट्याएर काम अगाडी बढाइएको जानकारी गराउनु भयो। केही आयोजनाहरुमा सामान्य समस्या देखिएपनि तिनको समाधान चांडेै हुने प्रतिबद्धता जनाउनु भयो ।

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ६ लेन सडक विस्तारका लागि काम अगाडी बढाइएपनि ब्यवसायीहरुको विरोध र अदालतको आदेशका कारण काम हुन नसकेको अवस्थामा बुटवलवासी आफैले सडक विस्तारको औचित्य र आवश्यकताका विषयमा छलफल गर्न महाससचिव पौडेलले आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश सरकारका मन्त्री,सांसद,नगपालिकाका प्रमुखहरु सहित सडक डिभिजन कार्यालय बुटवल,ब्यापारिक मार्ग विस्तार आयोजना,जनताको तटबन्ध,भूमिगत सिंचाई भवन डिभिजन,प्रदेश सरकार अन्तर्गतका पूर्वाधार विकास आयोजना र भवन डिभिजन र बन डिभिजन कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।

जिल्लामै कार्यालय स्थापना नभएका कारण कालिगण्डकी–तिनाउ डाइभर्सन र पूर्वपश्चिम रेलमार्ग आयोजनाका प्रतिनिधिहरु कार्यक्रममा सहभागि नभएको जानकारी दिंदै नेता पौडेलले दुवै आयोजनालाई नमुना आयोजनाको रुपमा अगाडी बढाउन आफु प्रतिबद्ध रहेको बताउनु भयो । उहाले रेलमार्ग अन्तर्गत बुटवल पश्चिमको डिपिआर निर्माण शुरु भएको र कालिगण्डी डाइभर्सनसको डिपिआर यसै वर्ष सकिने जानकारी दिनुभयो । त्यस्तै बुटवल–नारायणगढ ६ लेन सडक संगै बुटवल– कोहलपुर ६ लेन सडक निर्माणका लागि समेत आफुले अग्रसरता लिने प्रतिबद्धता जनाउनु भयो ।
कुनै टेलिभिजन कार्यक्रमका प्रस्तोताकै शैलीमा प्रस्तुत हुनुभएका महासचिव पौडेललाई बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि तथा स्थानीयले यस्तो कार्यक्रम पटक–पटक आयोजना गरेर आयोजनाहरुको ढिलासुस्ती हटाउन आग्रह गरेका थिए । सो अवसरमा पौडेलले बुटवल सहित सिंगो रुपन्देही जिल्लालाई दुनियांको नमुना क्षेत्र बनाउन आफू प्रतिबद्ध रहेको जनाउनु भयो। उहाले विकास सिक्न रुपन्देही आउनुपर्ने अवस्था सिर्जना गर्न आफु प्रतिबद्ध रहेको बताउनु भयो ।

 
 
  
 

You may also like