तिलोत्तमा नगरपालिका प्लास्टिक मुक्त हुदै

by समतल अनलाइन

तिलोत्तमा । वातावरण संरक्षणको क्षेत्रमा कार्यरत सिम नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘शून्य पोलोथिन’ अभियान चलाउने भएको छ ।

तिलोत्तमा नगरपालिकाले गत साउनदेखि नगरलाई प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा गरेको छ । नगरपालिकाको घोषणालाई प्रभावकारी बनाउन सिम नेपालले अभियान चलाउने भएको हो ।

ग्रिनरी नेपालको अभियान सिम नेपालले ‘जुटौं सारा गाउँ र शहर, शून्य पोलिथिन तिलोत्तमा नगर’भन्ने नाराका साथ आयोजना गर्न थालेको हो । अभियानका क्रममा नगरका सबै टोल तथा विद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रमका साथै प्लाष्टिकलगायत फोहोरको संकलन र उचित व्यवस्थापन गरिने अभियन्ता निपेश ढाकाले जानकारी दिए ।

अभियानको बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले अभियानपछि १५ हजार विद्यार्थी, विभिन्न क्षेत्रका व्यक्तिलगायत नगरबासीलाई एकै ठाउँमा भेला गराएर वातावरणसम्बन्धी कार्यक्रम गरिने र यसले विश्व कीर्तिमान राख्ने दाबी गरे । उनले यसअघि पनि काठमाडौंमा वातावरण संरक्षणसम्बन्धी एक कार्यक्रम गरी विश्व कीर्तिमान राखेका थिए ।

वातावरणविद् ढाकाको निर्देशनमा सम्पन्न हुने यस कार्यक्रम व्यवस्थित, मर्यादित र राष्ट्रिय गौरवको बन्ने बताइएको छ । जर्मनीको विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरी नेपाल फर्किएका अभियन्ता ढाकाले देशका अधिकांश भू–भागको सांस्कृतिक, सामाजिक र पर्यावरणीय अध्ययन र अनुसन्धानबाट बनेको वृत्तचित्र र ३६५ जना राष्ट्रिय कलाकारहरुलाई एकैदिनमा गीत रेकर्डिङ गरेर गिनिज वल्र्ड रेकर्डसमा दर्ता गराएका थिए । उक्त गीत र वृत्तचित्र राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७४ भाद्र १७ गते काठमाडौंमा लाकोर्पण भएको थियो ।

‘मैले वातावरणीय सचेतनाको कार्यक्रम तिलोत्तमाबाट सुरु गरेर आसपासका पालिकाहरुमा फैलाउन चाहेको छु । हामी सबैले चाहने हो भने शून्य पोलोथिन सम्भव छ । विश्वका कयौं मुलुकमा संभव भएको छ भने हामीकहाँ नहुने कुरा छैन,’उनले भने,‘वातावरण संरक्षणको काममा देखाएको अग्रसरताले यो अभियानका लागि मैले तिलोत्तमा रोजेको हुँ ।’ वातावरण सम्बन्धी आममानिसमा चेतना फैलाउन नगरपालिकाको सहयोगमा आगामी माघ १० गते करिव दुई घण्टासम्म चल्ने सामूहिक कक्षामा विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुलाई विश्वको बढ्दो जलवायु परिवर्तन सम्बन्धी प्रशिक्षण दिने आयोजकले बताएका छन् ।

रुपन्देही जिल्लाका हरेक विद्यालयका विद्यार्थीहरु सहभागी हुने यो कार्यक्रममा उपस्थित विद्यार्थीले एक झोला प्लाष्टिकजन्य फोहर लिएर मात्र प्रवेश गर्नेछन् । यसका लागि सीम नेपालको संयोजनमा करिब दुई सय स्वयंसेवकको रोहवरमा तिलोत्तमा नगरपालिकाका हरेक समुदायका अभिभावक, विद्यार्थीहरुले प्लाष्टिकजन्य फोहर संकलन सुरु गरेका छन् ।

अभियान्ता ढाकाले दिएको जानकारीअनुसार कृषि भूमि, खोला, नदी, बाटो, गल्ली, वनजंगल, खोल्सा, पोखरी, नालालगायत सम्पूर्ण प्लाष्टिकजन्य पदार्थलाई संकलन गर्ने उद्देश्यले यो अभियान चलाइएको हो । त्यस्तै तिलोत्तमाका हरेक वडाका ८५ सामुदायिक तथा निजी विद्यालयमा ग्रिनरी नेपालले गरिरहेको कार्यक्रमलाई पनि निरन्तरता दिइनेछ । हरेक वडाका टोल विकास समितिहरुसंग समन्वय गरी प्रत्येक बिहान सरसफाई कार्यक्रम गरिने वातावरणविद् ढाकाले बताए ।

तिलोत्तमा नगरपालिका क्षेत्रलाई राष्ट्रियस्तरबाटै पोलिथिन मुक्त क्षेत्र घोषणा गरिने दुढ संकल्प सहित यो कार्यक्रम शुरु गरिएको उनले जनाए । अन्तर्राष्ट्रियस्तरको यस कार्यक्रमले नेपालमा मात्र हैन, विश्वमा पनि एक उदाहरण योग्य कामको रुपमा सबैलाई प्रेरणा हुने आयोजकको भनाइ छ ।

 
 
  
 

You may also like