उपनिर्वाचनको लागि मौंन अवधि सुरु

by समतल अनलाइन

निर्वाचन आयोगले चुनाव आचार संहिताको पूर्ण पालना गर्नरगराउन राजनीतिक दल लगायत मतदाताहरुमा अपिल गरेको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरी मंसिर १४ गते उपनिर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको जानकारी गराउँदै त्यस अवधिमा आचार संहिता उलंघनका कुनै पनि क्रियाकलापमा संलग्न नहुन राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई आह्वान गरेको हो ।

आचारसंहिता विपरीतका कार्य गर्नेलाई निर्वाचन कसुर तथा सजायँ ऐन २०७३ अनुसार कारबाही गरिने भन्दै आयोगले मौन अवधिमा सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न तथा प्रचार प्रसार लगायतका कार्य नगर्न सचेत गराएको छ । आयोगले मौन अवधिमा आचार संहिताको पूर्ण पालना गरटी निर्धक्क रुपमा मतदाताले मताधिकारको प्रयोग गर्ने अवस्था निर्माण गर्न सबैसँग अपिल गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मौन अवधिमा मतदातालाई आश्वासन दिने, प्रलोभनमा पार्ने, दबाब दिने , मतदाता परिचयपत्र कब्जा गर्ने जस्ता घटना भएमा तुरुन्तै जिल्ला उपनिर्वाचन आचारसंहिता अनुगमन समिति वा सम्बन्धित निकायलाई जानकारी गराई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
आयोगले उपनिर्वाचनका लागि आवश्यक सम्पुर्ण तयारी पूरा भएको पनि जनाएको छ ।

आयोगले उपनिर्वाचन पर्यवेक्षणका लागि ४ वटा राष्ट्रिय पर्यवेक्षण संस्थाहरुलाई अनुमति प्रदान गरेको छ । त्यसैगरी मतदानको दिन मतदान केन्द्र भ्रमणका लागि परराष्ट्र मन्त्रालय मार्फत अमेरिका, जापान र अष्ट्रेलिया दूतावास तथा यूरोपियन युनियनलाई पनि अनुमति दिएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा तर्फ कास्की निर्वाचन क्षेत्र नम्बर(२ को प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य, स्थानीय तह तर्फ उपमहानगरपालिका, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका वडाध्यक्ष समेत गरी ५२ रिक्त पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनका लागि २ सय ४७ मतदान स्थल, ५ सय ३७ मतदान केन्द्र तोकिएका छन् ।

 
 
  
 

You may also like