प्रेममा रहेका बेला खिचिएका तस्वीर–भिडियो सम्बन्ध बिग्रेपछि सार्वजनिक गर्ने पक्राउ

by समतल अनलाइन

काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–८ धुले बेसीघर भई काठमाडौँ महानगरपालिका–१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल छन् ।

उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्बिर तथा भिडियोहरू सम्बन्ध बिग्रिए पश्चात् पीडितका आफन्त तथा साथीहरूलाई फेसबुकको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको अभियोगमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको हो ।

सरोनले सहमति बिना अश्लील भिडियो खिचेर पीडितको बहिनीलाई पठाएको आरोपमा पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पीडित महिलाले दिएको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् । उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like