काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूसँग आज (बिहीबार) सामुहिक छलफल गर्दैछन् । सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि सभापति देउवाले मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । छलफल बिहान ९ बजे जनाइएको छ ।
मन्त्रीसँगै संसदीय दल कार्यसमितिसँग पनि उनले संयुक्त छलफल गर्ने उनले बताए । ‘सरकारमा सहभागी भएका कांग्रेसका मन्त्रीलाई सभापतिले छलफलका लागि बोलाउनु भएको छ’ भानुले भने, ‘मन्त्रीसँगै संसदीय दल कार्यसमितिसँग संयुक्त छलफल हुनेछ ।’
देउवाले सरकारका कामलाई प्रभावकारी बनाउन यसअघि पनि निवासमा बोलाएर मन्त्रीहरूसँग छलफल गरेका थिए । पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको काम प्रभावकारी बनाउन र समन्वय गर्नेगरी गत भदौदेखि दुई÷दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । दुई ठूला दलको संयुक्त सरकारले प्रभावकारी नतिजा नदिएको भन्दै सरकारमाथि दबाब पर्दै आएको छ । कांग्रेसबाट १० मन्त्री र २ राज्यमन्त्री सरकारमा छन् । सरकारको नेतृत्व प्रकाशमान सिंहले गरेका छन् ।
कांग्रेसबाट मन्त्री हुनेहरुमा उपप्रधानसहित सहरी विकास सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही छन् । दुई राज्यमन्त्रीमा रुपा विक र पूर्णबहादुर तामाङ छन् । विकले वन तथा वातावरण र तामाङले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।