बुटवल । जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले प्रगतिशील पत्रकार संघको १८औं स्थापना दिवसका अवसरमा हालको राजनीतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले राजनीतिलाई कमाउने भाँडो बनाइएको आरोप लगाउँदै संघीयता खारेज गर्नुपर्ने र लोकतन्त्र जोगाउन आवश्यक रहेको धारणा राखे।
उनले भने, “देशमा पञ्चायत र राजतन्त्र जनताको त्यागबाटै समाप्त भए। तर, अहिले राजनीतिमा हिनामिना र भ्रष्टाचारले संस्थागत रूप लिएको छ। युवाहरु ठूलो संख्यामा विदेश पलायन भइरहेका छन्, तर विदेश जानु मात्र समस्याको समाधान होइन।”
केसीले प्रदेश व्यवस्था जनताको हितमा नभएको बताउँदै यसलाई खारेज गरी स्थानीय तहलाई सबल बनाउनुपर्नेमा जोड दिए। “लोकतन्त्र र गणतन्त्रलाई जोगाउनु अहिलेको मुख्य आवश्यकता हो,” उनले थपे।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेको विशेष उपस्थिति रहेको थियो। उनले देशको समृद्धिका लागि प्रेस जगतले सकारात्मक भूमिका खेल्नुपर्ने बताए।
त्यस्तै, प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपाल र प्रेस चौतारीका अध्यक्ष लक्ष्मण पौडेल,नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे,पत्रकार महासंघ केन्द्रिय सदस्य रामराज पोखरेल लगायतले प्रेस स्वतन्त्रताको संरक्षण र समकालीन चूनौतिहरूका विषयमा आ-आफ्नो धारणा राखे।
कार्यक्रमका अध्यक्ष श्यामलाल पोखरेलले लोकतन्त्र र प्रेस स्वतन्त्रताको संरक्षणका लागि पत्रकारहरुको भूमिका अपरिहार्य रहेको बताए।