पशुपति कोटिहोममा २० करोड १५ लाख नगद र द्रव्य संकलन, कति भयो खर्च ?

by समतल अनलाइन

काठमाडौँ । पशुपति मन्दिरमा एक महिनासम्म चलेको कोटिहोममा आम्दानी भन्दा खर्च धेरै भएको विवरण सार्वजनिक भएको छ । कोटीहोम सकिएको झण्डै दुई महिनापछि आयोजक विजय कृष्णमुर्तिले आज (विहीबार) पत्रकार सम्मेलन गर्दै आय–व्यय विवरण सार्वजनिक गरेका हुन् ।

आयोजक कृष्णमुर्तिले ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ लगाउँदा घाटा भएको दाबीसहितको हिसाबकिताब सार्वजनिक गरेका छन् । कृष्णमुर्तिका अनुसार कोटीहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो ।

यस्तै, कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दावी गरेका छन् । उनले आफूलाई ७२ लाख ५० हजार बढी ऋण लागेको बताएका छन् । कृष्णमुर्तिका अनुसार सबैभन्दा बढी खर्च स्वयंसेवकका लागि भएको छ । ‘स्वयंसेवक’ शब्दले भुक्तानी नलिइकन गरिने सेवा हो । तर, आफूले स्वयंसेवकलाई मात्रै ४ करोड २६ लाख ५३ हजार ५० रुपैयाँ भुक्तानी दिएको कृष्णमुर्ति बताएका छन् ।

महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि २ करोड रूपैयाँ आउन बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यो रकम आयो भने बचत हुने कृष्णमुर्तिले बताए । उनले दिएको विवरण अनुसार नगद रसिदबाट १७ करो ४६ लाख ३७७ रुपैयाँ संकलन भएको थियो भने क्यूआर पेपेन्टबाट १ करोड ३६ लाख ७९ हजार ३४० रुपैयाँ उठेको थियो । दान पेटिकामा ४१ लाख ७७ हजार रूपैयाँ प्राप्त भएको उनले बताए । ‘एक युगमा एक पटक इतिहासमै पहिलो पटक’ भन्ने नाराका साथ पशुपतिको (वनकाली) हंस मण्डपमा साउन १ गतेदेखि महिनाभर कोटिहोम भएको थियो ।

 
 
  
 

You may also like