दुई नागरिकता बनाएर ३४ करोड ठगी

by समतल अनलाइन

काठमाडौं । नाम– केदारप्रसाद गौतम । काम– कृषि विकास बैंकका अधिकृत ।
नक्कली नाम– तेजबहादुर थापा । प्रयोजन– तेजबहादुरको नाममा विदेशबाट पैसा आएको देखाएर बैंकलाई ठग्न ।

कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत केदार आफ्नै नाम बदलेर कृत्रिम ग्राहक बने । त्यसअघि तेजबहादुर थापा नाममा नागरिकता निकाले, पासपोर्ट बनाए । आफ्नै बैंकमा त्यस नाममा खाता खोले । विदेशबाट रेमिट्यान्स आएको भन्दै पैसा झिक्दै त्यता हाले ।

एक–दुई हजार, लाख होइन…, करोड पनि होइन, करिब ३४ करोड रुपैयाँ । यत्रो ठग्दा पनि बैंकका न शाखा प्रमुखले पत्तो पाए, न केन्द्रीय कार्यालयले । जब उनी राजीनामा दिएर विदेश पलायन भए, बल्ल पोल खुल्यो ।

अब उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परिसकेका छन् । गौतमसहित ८ जनाविरुद्ध जनही ३४ करोड बिगोसहित अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । गौतमको फर्जी कारोबार र रकम हिनामिनाबारे चुपचाप बसेकाले स्वयम्भूका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँविरुद्ध पनि अख्तियारले मुद्दा हालेको छ । गौतम र बानियाँ दुवैलाई १० वर्ष कैद माग गरिएको छ ।

गौतमले आफ्नो नक्कली नाम तेजबहादुरको खातामा ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयबाट र अन्य विभिन्न बैंकबाट इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी) दुरुपयोग गरी भुक्तानी लिएको अख्तियारको अनुसन्धानले देखाएको छ ।

गौतम नक्कली नामबाट नागरिकता र राहदानी बनाएर विदेश फरार हुने योजनाअनुरूप भारत गएर बसेका थिए । उनलाई भारतको सिलिगुढीबाट पक्राउ गरिएको थियो । उनी पुर्पक्षका लागि थुनामा छन् । गौतमविरुद्ध अख्तियारले योजनाबद्ध ढंगबाट बैंकिङ प्रणालीको पासवर्ड चोरी गरी बैंकिङ सिस्टम दुरुपयोग गर्दै रकम हिनामिना गरेको र बैंकलाई नोक्सान पुर्‍याएको अभियोग लगाएको छ ।

शाखा अधिकृत गौतमसमेतले ०७१ असोजदेखि ०७२ असारसम्ममा गैरकानुनी तवरबाट ३३ करोड ९३ लाख रुपैयाँ निकाली बैंकलाई हानी पुर्‍याएको अख्तियारको दाबी छ । बानियाँले शाखा प्रबन्धकका हैसियतले रेमिट्यान्सलगायत आर्थिक कारोबार, कर्मचारी रेखदेख र नियन्त्रण, व्यवस्थापन र अभिलेख जाँच र दायित्व वहन नगरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

गौतमका दुई पत्नी छन् । जेठी पत्नी सम्झना पोखरेल गौतम र कान्छी पत्नी जेनी श्रेष्ठ गौतमले उक्त रकम दुरुपयोग गरेको अख्तियारले जनाएको छ । सम्झनाले पतिले बैंकबाट हिनामिना गरेको रकमबाटै कर्जा तिर्ने गरेको पाइएको छ ।

उनीमाथि गैरकानुनी तवरबाट निकालेको रकम कारोबार गर्न बैंक खाता खोल्न तथा बन्द गर्न प्रत्यक्ष संलग्न रहेको र आफ्नो नाममा भएका जग्गाजमिन सबै बेची हिनामिना गरेको रकम लुकाउन भारत बसाइँ सरेको आरोप छ ।

यस्तै कान्छी पत्नी जेनीले गौतमलाई विदेश फरार हुन सघाएको, नक्कली नागरिकता र राहदानी लिएर भारतमा बसेको जानकारी हुँदाहुँदै रकम लुकाउन र प्रयोग गर्न मद्दत गरेको आरोपपत्रमा उल्लेख छ । गौतमले बैंकको रकमबाट गाडी समेत किनेका थिए ।

उनले किर्ते काममा ठूलो गिरोहको साथ लिएका थिए । तिनको पनि नागरिकता दुईटा बनाइएको थियो । गौतमसँग सुमन भुजेलले जग्गाको कारोबार गरेकाले उनीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । सन्दीप गुप्ताले अनियमित रकम बैंक खातामा जम्मा गरिदिनुका साथै भारत पठाउन गौतमलाई सघाएका थिए ।

सूर्यबहादुर लिम्बूले वसन्त राई भनी किर्ते नागरिकता बनाई गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंक खातामा जम्मा गरिदिनुको साथै भारत पठाउनसमेत सहयोग गरेका थिए ।
कृष्णहरि थापाले राजीव थापाका नाममा नक्कली नागरिकता बनाई प्रस्तुत कसुरको मुख्य योजनाकार गौतमसँग मिलेमतो गरी विभिन्न व्यक्तिका नाममा नक्कली नागरिकता बनाउनुका साथै खाता खोल्न भूमिका निर्वाह गरेका थिए ।

गौतमका दुई पत्नीसहित अन्य ६ विरुद्ध दुई वर्षसम्म कैद वा बिगो बमोजिम जरिबाना गरी बिगो समेत जफतको मागदाबी गरिएको छ । गौतमविरुद्ध गृह मन्त्रालयले झुठो नागरिकताको कसुरमा मुद्दा चलिरहेको छ भने बैंकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा चलाइरहेको छ ।

उनले नागरिकता समेत नक्कली पेस गरेर स्वयम्भूमा चार र कृषि विकास बैंककै रत्नपार्क, पुतलीसडक, मंगलबजार, सातदोबाटोलगायत ७ वटा शाखामा १० वटा नक्कली खाता खोलेका थिए ।

यसबाहेक मेगा, सिभिल, नेपाल इन्भेस्टमेन्ट, लुम्बिनीलगायत ७ बैंकमा पनि नक्कली खाता खोलेको पाइएको प्रहरीले जनाएको छ । करोडौं हिनामिनापछि गौतमले पत्नीलाई डीभी परेको भन्दै बैंकबाट राजीनामा दिएका थिए । त्यसपछि अमेरिका जाने भन्दै उनी भारतको सिलिगुढीमा लुकेर बसेका थिए । अन्नपूर्ण पोष्टबाट

 
 
  
 

You may also like