कांग्रेस प्रजातान्त्रिक पार्टी हो, स्वस्थ प्रतिस्पर्धा हुन्छ : देउवा

by समतल अनलाइन

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । आज (शनिबार) ललितपुरमा आयोजित पार्टी निकट इन्जिनियरहरूको भेलामा बोल्दै उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ थियो ।

उनले नेपाल इन्जिनियर्स एशोसिएशनको निर्वाचनमा जित हासिल हुनेगरी तयारी गर्न पनि पार्टी निकट इन्जिनियरहरूलाई निर्देशन दिए । आगामी भदौ २८ गते ललितपुरमा सो निर्वाचन हुँदैछ । सभापति देउवाले सो निर्वाचनमा पार्टी समर्थित इन्जिनियरहरूले जित्नुपर्ने धारणा राखे । उनले त्यसका लागि एकताबद्ध भएर सकेसम्म सहमतिमै उम्मेदवार चयन गर्न पनि सचेत गराए ।

उनले भने ‘अहिले तपाईहरू आपसमा मिलेर जानुस । भरसक तपाईहरू मिलेर जानु बेस हुन्छ । भोलिको चुनावमा नेपाली कांग्रेसमा समर्थित साथीहरूले यो चुनावमा जित्नु पर्छ भन्ने हाम्रो धारणा छ । त्यसकारण साथीहरूले त्यसै अनुरूप सब एक भएर आपसमा एकताबद्ध भएर पहिला आपसमा नै सहमति गर्नुस् । सहमति हुन सकेन भने पनि स्वस्थ प्रतिस्पर्धात्मक तरिकाले मित्रवत् रुपमा चुनाव गर्नुस् । भोलि आउने चुनौतीहरूमा नेपाली काँग्रेस पार्टी छ । यो डमोक्रेटिक पार्टी हो । त्यसले यो इन्जिनियर्स जस्तो संस्थाहरूमा नेपाली कांग्रेस समर्थित साथीहरू छन् । अझ बढी यसलाई बलियो बनाएर काँग्रेस समर्थितलाई ल्याएर भोलिका भविष्यको राजनीतिमा सम्पूर्ण प्राविधिक क्षेत्रमा नेपाली काँग्रेसको विजय होस् भन्ने कामना गर्न चाहन्छु । तपाईँहरूले जित्नुहोस् भन्ने हार्दिक कामना गर्दछु ।’ सभापति देउवाले सो एशोसिएशनको निर्वाचनमा जित हासिल गर्नका लागि आन्तरिक रुपमा एकताबद्ध भएर अघि बढ्न पनि पार्टी निकट इन्जिनियरहरूको ध्यानाकर्षण गराए ।

 
 
  
 

You may also like