प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

by समतल अनलाइन

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दैछ । दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ यस्तो व्यवस्था छ । वर्णानुक्रमअनुसार सांसदहरूले प्रश्न सोध्दै आएका छन् ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने समेत कार्यसूची छ । सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्वको प्रस्तावमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउने पनि कार्यसूचीमा उल्लेख छ ।

धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधयेकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची पनि छ । त्यस्तै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्नेछन् ।

यस्तै आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने पनि कार्यसूचीमा उल्लेख छ । अर्थमन्त्री पौडलेले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा जनाइएको छ ।

 
 
  
 

You may also like