एक बरिष्टाको सपनाः बुटवललाई ‘कफि सिटी’ बनाउँछु

by समतल अनलाइन

सन्तकुमार श्रेष्ठ
बुटवल । ‘आहा ! कफि । आईतबार विहानै होस् या अन्य कुनै दिन, बिहान एक कप कफि भएन भने मुड नै खुल्दैन ।’ बुटवल बहुमुखी क्याम्पसका विद्यार्थी रुपेश अर्यालले भने । उनले कुरा सक्न नपाउँदै अर्का बीमल पाण्डे बोले,‘कफिको त सेन्ट नै मन पर्दैन यार । दुध चिया भने पछि हुरुक्कै हुन्छु ।’

बुटवल गोलपार्कमा भर्खर खुलेको आरम्भ क्याफेको अगाडी गोलो टेबुलमा बसिरहेको विद्यार्थीको एक वृत्तमा भईरहेको यो कुरा सुन्दै काउण्टरमा बसिरहेका क्याफेका सञ्चालक विप्लब न्यौपाने क्षेत्री भने मुस्कुराई रहेका थिए । ‘बुटवल कफिमय हुदैं छ ।’ उक्त दृश्य हेर्दै समतल अनलाईनसँग उनले भने ।

दुई चुरेको खोँचमा रहेको गोलपार्कबाट पश्चिम फर्किदा दाईने तिर भर्खरै सञ्चालनमा आएको एक क्याफे छ– आरम्भ । विहानको चिसोमा बहुमुखी क्यामपसका विद्यार्थीहरु क्याफे अगाडि हात मिच्दै तातो चिया र कफिको प्रतिक्षमा छन् । उत्तर तिरको सिरेठोसँगै सिद्धबाबा मर्निङ वाक जानेहरुको हुल क्याफे छिर्छ र त्यसै गरि चिया र कफिको प्रतिक्षामा लाइर्एन लागेका छन् । यता क्याफेका सञ्चालक बरिस्टा विप्लवलाई भ्याई नभ्याई छ । कोहीले क्यापुचिनो भनेका छन् । कोहीले ब्ल्याक कफि मागेको छ । कोहीले क्रिम राख्न लगाएका छन् । कोही चिच्याउँदै लट्टे भन्छ । चिया पारखीहरुको छुट्टै आवाज सुनीन्छ,‘दाई मिठो चिया खाउँ हैं ।’ काउण्टरका चर तिर राखिएका उफरबाट रामकृष्ण ढकालको ‘विहान उठ्ने वित्तिकै…..’ घन्कीरहेको छ । केही विद्यार्थीहरुले उफरसँगै गित गुन्गुनाई रहेका छन् । काउण्टरबाट सिधा देखिने बुहमुखी क्याम्पस माथि देखिने हरियो डाँडो केही कलात्मक देखिन्छ ।

सबैले मागे अनुसारको कप हात हातमा पु¥याईसकेपछि हामी छेवैमा आएर बस्दै बरिष्टा क्षेत्री हास्दै भन्छन्,‘मेरो विहान यसरी नै सुरु हुन्छ । सबैलाई फ्रेस बनाउँदैं ।

बरिष्टा क्षेत्री ३४ बर्षे युवा हुन् । उनलाई यस्तो आईडिया कसरी आए होला ? परिवारको खुसी खोज्दै खाडी छिर्ने प्रत्येक नेपालीको खुसी परिवारको सपना बोकेर पाल्पा बगनासकालीबाट १० बर्ष अघि दुवई छिरेका रहेछन् उनि । खाडीको गर्मी र दुःखले नेपाल र परिवारलाई झनै करिब बनाएको थियो । ‘१२ देखि १६ घण्टासम्म काम गर्नु पथ्र्यो । परिवारसँग टाढा हुनुको असन्तुष्टी त छँदैं थियो त्यसैमाथि खाडीको गर्मी । सधैं घरमात्रै सम्झीन्थेँ ।’ उनले सुनाए । त्यसो भन्दा आँखामा भाव छचल्कीएको स्पष्ट देखिन्थ्यो ।

दुवईमा सोचें जस्तो भएन । घर फिरे । सपना सपना नै रह्यो । जसरी स्वदेशमा बेरोजगारी रहिरहेको । मनले मानेन । फेरी दुवईकै छिमेकी देश साउदी अरब पुगे । तर, चर्चित तिज गीतमा जस्तो जँगलमा भेँडा चराउन परेन त्यहाँ । बरु त्यसको साटो उनि कफीसँग नजिकिने मौका पाए ।

विश्वकै ठूलो कफि फ्रेन्चाइज मध्यको डन्कन डुनटमा बरिस्टाको रुपमा जागिर पाए पछि उनले कफी कल्चरसँग नजिकिए । राजधानि रियादमा रहेका डन्कन डोनट र बास्कीन–रोबीन्सको ठूलो फ्रेन्चाईज कम्पनी साहिया फूड कम्पनीको त्यतीबेला ३०० वटा आउटलेट थिए । तिनै आउटलेटमध्यको कुनै एकमा बरिस्टाको अनुभव बटुल्दै गर्दा नेपालका मोफसलमा कफि कल्चर फस्टाउन नसकेको अनुभुति उनले गरे । ‘बुटवल, नेपालगञ्ज, धरान जस्ता विदेशी पर्यटकहरु कम आउने मोफसलका सहरहरुमा कफि पिउने मानिसहरु धेरै थिएनन् त्यतीबेला ।’ उनले सुनाउँछन्,‘धनि घरानाका मानिसहरुले मात्रै पिउने भनेर बुझ्थे मानिसहरु ।’

डन्कनमा कफिसँग मितेरी गाँसेपछि उनलाई स्वदेश फर्केर कफीको स्वाद फैलाउने विचार आउन थाल्यो । अनुभव र आवश्यक लगानी जुटाएपछि उनि अन्तीम पटक नेपाल फिरे । यो पटक सपनाका पखेटा लागेका थिए ।
दुई चुरेको खोँच । खोँचमा तिनाउ । तिनाउकै किनारमा ठूलो बस्ती । बस्ती नजिकै ठूलो क्याम्पस । उनले गोलपार्क चुने । दुई महिना अगाडी त्यहीँ ५ लाख रुपैंयाको लगानीमा आरम्भ कफीको सुरुवात गरे । ‘अहिले बुटवलमा कफि कल्चर फैलिईसकेको रहेछ । क्याफेहरु पनि खुलिरहेका छन् ।’ उनले भन्छन्,‘तर, अझैं पनि कफीलाई मानिसहरुले बुझीसकेका छन् जस्तो लाग्दैन । मेरो योजना बुटवललाई कफी सिटी बनाउने हो ।’

किन पिउने कफी ?

संसारमा धेरै यस्ता मानिसहरु छन् जो बिहान एक कप कफि नपिइकन आफ्नो दिनको सुरुवात गर्दैनन् । यी मानिसहरुका अनुसार कफीले उनीहरुको दैनिक उत्पादकत्वमा धेरै राम्रो प्रभाव पार्छ । यस्ता कैयौं अनुसन्धानहरु भएका छन् जसले कफी स्वास्थ्यको लागि राम्रो भएको तथ्य पत्ता लगाएको छ ।
त्यसैगरि साथीहरु भेट भएर कफी सपमा घन्टौं कफी पिउँदै गफगाफ गर्ने चलन आजकाल ठूला शहरमा मात्रै होइन बुटवलजस्ता मोफसलका शहरमा पनि सुरु भएको छ ।

कफीको यस्ता सामाजिक मेलमिलापका फाइदाको बारेमा हामी सबै जानकार छौं । तर कफी स्वास्थ्यको लागि कति महत्वपूर्ण छ ?

यसको सेवनले हाम्रो स्वास्थ्यमा कस्तो फाइदा गर्छ यस बारेमा धेरैलाई थाहा नहुन सक्छ ।

युवा बरिष्टा विप्लव न्यौपाने क्षेत्रीका अनुसार दिनमा तीन देखि चार कप कफी पिउनु स्वास्थ्यको लागि धेरै नै राम्रो हुने मानिन्छ । यसो त केही अध्ययनले दुध र चिनी नराखी कफी पिउनु सबैभन्दा राम्रो हुने देखाएका छन् । त्यस्तै कफीको साथमा तपाईले कुनै पनि हेभी स्न्याक्स खाएमा भने त्यसले तपाईले कफीबाट पाउने फाइदालाई कम गर्छ ।

नियमित कफी पिएमा यस्तो फाईदा हुन्छ ?

–हालसालै गरिएको एक अध्ययन अनुसार कफीका हरेक कप कफीले तपाईलाई डायबिटिज हुने खतरालाई ७ प्रतिशत सम्म कम गरिदिन्छ । नियमित रुपमा कफी पिउनाले टाइप २ डायबिटिजको खतरा धेरै कम हुन्छ ।

–कफीमा पाइने क्याफिन पार्किन्सन्सको रोगका बिरामीलाई उपयोगी हुन सक्छ ।

–कफी पिउनाले कलेजोको क्यान्सरको खतरा केही हदसम्म कम हुन्छ । अरु खालको क्यान्सरमा भने कफीले कति राम्रो गर्छ भन्ने चैं अहिलेनै पक्का रुपमा भन्न सकिँदैन् ।

–यस्तै एक अध्ययनले कफी पिउने मानिसहरु कफी नपिउने मानिसहरुको तुलनामा धेरै लामो आयो बाँच्न सक्ने कुरा पत्ता लगाएको छ ।

यस आधारमा भन्न सकिन्छ, कफीले तपाईलाई काम गर्नको लागि ताजगी मात्रै दिँदैन यसले तपाईलाई स्वास्थ्यसम्बन्धी अरु पनि फाइदा गर्छ । तर, कफी स्वास्थ्यको लागि हरेक स्थितिमा राम्रो हुन्छ भन्ने जरुरी छैन । नियमित रुपमा कफिको सेवन नगर्ने मानिसले कफी पिएमा उसलाई हर्टअट्याक हुने खतरा पनि हुन सक्ने एक अध्ययनले देखाएको छ ।

 
 
  
 

You may also like