सिमलताल दुर्घटनाको छैटौं दिन : भेटिएका १८ मध्ये १४ शवको सनाखत, पत्तो लागेन दुई बस

हराईरहेका थप ४४ जनाको अवस्था अझै अज्ञात
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता दुई वटा बसका यात्रुमध्ये अहिलेसम्म १८ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये चार जनाको अझै सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

६ दिनअघि हराएका दुई वटा बस सशस्त्र प्रहरीको ठूलो टोलीले खोजिरहेको छ । १८ वटा शव भेटिए पनि दुई वटा बसको पत्ता अझै लाग्न सकेको छैन । भेटिएका शवमध्ये बुधबार बिहानसम्म १४ जनाको सनाखत भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् । दुई वटा बसमा ६५ जना यात्रु रहेका थिए । तीमध्ये तीन जना बसको झ्यालबाट हामफालेर जोगिएका थिए । अझै ४४ जनाको अवस्था अज्ञात छ ।

चार जना पुरुषको सनाखत हुन बाँकी रहेको उनले बताए । अन्य शव र बसको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न नसकेको जनाइएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशुली नदीमा दुई बस बेपत्ता भएका थिए । वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस गत असार २८ गते बिहान त्रिशुली नदीमा बेपत्ता भएका थिए ।

 
 
  
 

You may also like