गैडहवाले ल्यायो ६३ करोड ३८ लाखको बजेट, ताल सौन्दर्यीकरणदेखि होमस्टेसम्मका योजना

भैरहवा ।रुपन्देहीको गैडहवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु. ६३ करोड ३८ लाख १८ हजारको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । १४ औं गाउँसभा, २०८१ मा पालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले नीति तथा कार्यक्रम र उपाध्यक्ष माधुरी जैसवालले आयव्यय विवरण प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष पौड्यालले गैडहवा गाउँपलिका स्थानीय सरकार समाजवाद उन्मुख, आर्थिक सामाजिक विकास र सामाजिक न्यायसहितको समतामूलक ‘समृद्ध गैडहवा सुखी गैडहवाबासी’ को आकांक्षा पूरा गर्न दृढ संकल्पित भएको बताए । उनले नीति तथा कार्यक्रम पूर्वाधार तथा मानवीय विकास केन्द्रित भएको बताए ।

चुनावको बेला घोषणापत्रमा उल्लेख गरिएका जनताका आवश्यकता र मागअनुसार कृषि, पर्यटन, पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली लगायत आधारभूत क्षेत्रलाई महत्व दिइएको प्रस्तुत नीति तथा कार्यक्रममार्फत अध्यक्ष पौड्यालले उल्लेख गरेका छन् ।

नीति तथा कार्यक्रममा पर्यटन तथा आर्थिक विकासतर्फ गैडहवा ताल सौन्दर्यीकरण तथा होमस्टे सञ्चालन गरिने उल्लेख छ । पालिका अध्यक्ष पौड्यालले लुम्बिनी आउने पर्यटकलाई गैडहवा ताल ल्याउने र कम्तीमा एक दिन बसाई हुने गरी होमस्टे सञ्चालनको योजनामा रहेको बताए । शिक्षातर्फ शिक्षाको गुणस्तर वृद्धि गरी पूर्वाधार विकासमा टेवा दिने कार्यक्रम ल्याउने भनिएको छ । पालिकालाई नमूना पालिका बनाई जनप्रतिनिधि र कर्मचारी सदैव जनमैत्री भएर सेवा गर्ने भावनालाई जागृत गरिएको छ । कृषि क्षेत्रलाई बजारीकरण, आधुनिकरण यान्त्रीकरण गरिने भएको छ । सुकुम्बासी समस्या समाधान गर्नका लागि आवश्यक पहल गरिने जनाइएको छ ।

गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष माधुरी जैसवालले आगामी वर्ष २०८१/०८२ का लागि रु.६३ करोड ३८ लाख १८ हजारको बजेट प्रस्तुत गरेकी छन् । जसमा चालुतर्फ रु.३६ करोड ६४ लाख ६८ हजार र पूँजीगत तर्फ रु. २६ करोड ७३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । विनियोजित बजेटमा गाउँपालिकाबाट रु.३७ करोड ८ लाख ४५ हजार र संघीय हस्तान्तरित कार्यक्रम सञ्चालनका लागि रु.२ करोड ६० लाख व्यवस्था गरिएको छ ।

गाउँपालिकाले नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान रु.१३ करोड ७० लाख, सशर्त अनुदान संघीय रु २३ करोड ६९ लाख ७३ हजार, मूल्य अभिवृद्धि तथा अन्तशुल्कवापत राजस्व बाँडफाँड रु.१२ करोड २० लाख तथा प्रदेश सरकारबाट वित्तीय समानिकरण रु ९५ लाख ६३ हजार, सशर्त अनुदान रु.९० लाख समपुरक अनुदान रु.७० लाख र राजस्व बाँडफाँडवापत प्रदेश सरकारबाट प्राप्त हुने आय रु.५० लाख ९४ हजार, नवप्रवद्र्धनका लागि रु.९९ लाख ४० हजार आय हुने प्रक्षेपण गरेको छ ।

गाउँपालिकाले शैक्षिक कार्यक्रम अन्तर्गत सुर्यपुरा बहुमुखी क्याम्पसको भवन निर्माणका लागि रु.१ करोड ५० लाख रकम विनियोजन गरेको छ । पालिकाभित्र छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण तथा सुदृढीकरणका लागि रु.२५ लाख, मृगौला प्रात्यारोपण गरेका, डाईलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई औषधी उपचारका लागि खर्चवापत मासिक रु.५ हजार उपलब्ध गराउने भएको छ ।

त्यस्तै चैते धान प्रवद्र्धन र खाद्यान्न बालीको उन्नतका लागि रु.१२ लाख ३० हजार विनियोजन भएको छ । सुर्यपुरा बजारमा बाटो तथा नाली व्यवस्थापनका लागि रु.१ करोड ४० लाख, मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत गैडहवा ताल सौन्दर्यीकरण तथा होमस्टे सञ्चालनका लागि रु.१ करोड ४२ लाख, गैडहवा गाउँपालिका वडा नम्बर ६ मा शवदहन निर्माणका लागि रु.५० लाख विनियोजन गरिएको छ ।

पालिकाहरुको साझेदारीमा खरिद गरिएका बारुण यन्त्र सञ्चालनसहित विभिन्न शिर्षकमा बजेट व्यवस्थापन गरिएको छ ।

गाउँपालिकाका प्रशासन प्रमुख रमपत मल्लाहको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तथा गाउँ सभाका सचिव श्री प्रसाद प्रसाद गौतम लगायतले भनाइ राखेका थिए ।

 
 
  
 

You may also like