बुटवलको डेल्टा कम्प्लेक्समा ८ घण्टापछि आगो नियन्त्रणमा,५० करोड बढीको क्षति

बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्स विहिबार साँझ आगलागी हुँदा जलेर नष्ट भएको छ । बिहीवार साँझ साढे ६ बजेबाट लागेको आगो शुक्रबार राति २ बजेतिर निभाउन सफल भए पनि सबै सामान तथा भवन भने जलेर नष्ट भएका छन् ।

मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट साँझ साढे ६ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागी भएको करिब ८ घण्टापछि पूर्ण नियन्त्रणमा आएको थियो ।

झण्डै ३० हजार स्क्वायर फुट क्षेत्रफलमा बनेको कम्प्लेक्समा स्टेशनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोसाक, काँचो र तयारी कपडा, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्नको मार्ट संचालनमा थिए । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार कम्प्लेक्समा संचालित सम्पुर्ण पसल र सामानहरु झण्डै आठ घण्टा लागेको आगोले खरानी भएका छन् । पण्डितका अनुसार मोटर ग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्सबाट अन्यत्र आगो फैलिनबाट जोगिएपनी कम्प्लेक्स भने पुर्ण रुपमा ध्वस्त भएको छ ।

आगलागीपछि बुटवल उपमहानगरपालिका, देवदह, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीको बर्दघाट र परासी, कपिलवस्तुको वाणगंगा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत गरि १३ वटा दमकल आगो नियन्त्रणमा खटिएका थिए । फलाम र प्यानलबोर्डबाट बनेको चारतल्ले भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ । चारैतर्फ प्यानलबोर्ड र सिसा जडान गरि निर्माण गरिएको कारण कम्प्लेक्सको चौथो तल्लाबाट सुरु भएको आगो एकैपटक सबै तलामा फैलिएको थियो ।

कम्प्लेक्सको माथिल्लो तलामा डेल्टा एजुकेशन मार्ट रहेको थियो भने अन्य तिनवटा तलामा नेपाली जुत्ता बजार, नेपाली लुगा घर र खाद्यान्न पसल थिए । बुटवलका ठुला व्यवासायी र शिक्षण पेशाका अगुवाहरुले ५ वर्ष पहिले संचालन गरेको डेल्टा एजुकेशन मार्टमा पछिल्ला दुईवर्षदेखी नेपाली जुत्ता घर र नेपाली लुगा घरपनि संचालन गरिएको थियो ।

कम्प्लेक्समा संचालित विभिन्न पसल तथा फर्महरुमा २ सय बढीले रोजगारी पाएका थिए । आगलागी कहाँबाट शुरु भयो र कति क्षति भयो भन्ने पुर्ण विवरण नआईसकेपनी ५० करोड बढिको क्षति भएको डेल्टा कमप्लेक्सका संचालक चोला प्रसाद पाठकले जानकारी दिए । आगलागीबाट भएको क्षतिको विरण संकलनका लागि शुक्रबार विहान सञ्चालक समितिहरुको बैठक बसेको छ ।

 
 
  
 

You may also like