लुम्बिनीको मिडिया बजेटमा विभेद गरिएको भन्दै प्रकाशन तथा प्रशारण संघद्वारा विरोध

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको सञ्चार सम्बन्धी बजेटप्रति प्रकाशन तथा प्रशारण संघ लुम्बिनीले विरोध जनाएको छ । आफ्ना नजिक र गोजिका मिडियाहरुलाई मनपरी बजेट वितरण गरेको भन्दै संघले विहिबार एक विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो ।

‘मिडियामा समानुपातिक सहभागिताको प्रश्नलाई सिधै खारेज गरी आफ्ना नजिक र गोजीका मिडियाहरुलाई विना आधार जनताको करबाट उठेको रकम मनलाग्दीगरि विनियोजन गरिनु एक प्रकारले नीतिगत भष्ट्राचार हो भन्ने हाम्रो ठहर छ ।–जारी विज्ञप्तीमा भनिएको छ, ‘एकातिर मिडियालाई व्यक्तिगत पहुँच र प्रभावको आधारमा घर निर्माण र उपकरण खरिद जस्ता शिर्षकमा आफ्नो खल्तीको रकम छुट्टाए जस्तो गरि छुट्टाईनु तथा अर्को तर्फ प्रदेशमा लामो समय देखि व्यवसायिक पत्रकारीता गर्दै आएका मिडियाहरुलाई पूर्ण रुपमा उपेक्षा गर्नुले सरकारको नियती र चरित्रमा प्रसस्त शंका गर्ने आधार स्वतः प्रकट भएका छन् ।’

संघका अध्यक्ष नवराज कुंवर तथा महासचिव माधव नेपालद्वारा जारी विज्ञप्तीमा विभेदकारी सञ्चार बजेट पूर्ण रुपमा खारेज गरी समानुपातिक सहभागिताको सुनिश्चितता गरिनु पर्ने माग गरिएको छ । बजेट सुधार नगरे आन्दोलन बाहेक अन्य विकल्प नभएको संघले चेतावनी दिएको छ ।

 
 
  
 

You may also like