रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीको कारवाही

काठमाडौं । अमेरिका र वेष्ट इण्डिजमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा झगडा (विवाद) गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आइतबारको खेलमा खेल आचारसंहिता उल्लंघन गरेको भन्दै उनले पाउने म्याच फिको १५ प्रतिशत जरिवाना गराएको हो । नेपालले बंगलादेशले दिएको लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरमा उक्त घटना भएको थियो । नेपाली स्किपर रोहित पौडेलसँग उनले खेलकैबीच विवाद गरेका थिए । तान्जिमले खेलाडी र उनीहरुका सहयोगीका लागि बनाइएको आईसीसी आचारसंहिताको २.१२ को नियम उल्लंघन गरेको पाइएको आईसीसीले जनाएको छ ।

२.१२ को व्यवस्था खेलाडी, उनीहरुका सहयोगी, अम्पायर, म्याच रेफ्री वा अन्य कुनै व्यक्ति (दर्शक समेत) सँग अन्तर्राष्ट्रिय खेलका दौडान अस्वाभाविक शारीरिक स्पर्शसँग सम्बन्धित छ । आईसीसीका मैदानमा रहेका अम्पायरद्वय अहसन राजा र साम नोगाज्स्कीसँगै तेस्रो अम्पायर जयरामन मदनगोपाल र चौथो अम्पायर कुमार धर्मसेनाले उक्त कारबाही गर्नुपर्ने ठहर गरेका थिए । तान्जिमले आफूले गरेको गल्ती महशुस गरेको र आईसीसीको कारबाही स्वीकारेको बताइएको छ । अम्पायर रिची रिचार्डसनले तान्जिमविरुद्ध कारबाही सिफारिस गरेका थिए । सो खेलमा नेपालविरुद्ध बंगलादेश २१ रनले विजयी भएको थियो ।

 
 
  
 

You may also like