लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना

काठमाडौं । घुस बापत ठेकेदारबाट आफ्ना लागि जग्गा खरिद गराएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाइएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले भट्टराईलाई बिहीबार जेल सजाय र जरिवाना तोकेको हो । प्रतिवादी भट्टराईले भक्तपुरमा किनेको जग्गाको भुक्तानी दिने क्रममा कोषको कामसँग सम्बन्धित ठेकेदारमार्फत ८० लाख रुपैयाँ बिक्रेताको खातामा पठाएको ठहर विशेषले यही जेठ २४ गते गरेको थियो । बिहीबार उनलाई सजाय सुनाइएको हो ।

महोत्तरीको भंगाहा– ५ स्थायी घर भएका भट्टराईले भक्तपुर गुण्डुमा– २ कित्ता जग्गा किनेका थिए । २ रोपनी ९ आना १ पैसाको एउटा र २ आना एक पैसाको अर्को गरि २ कित्ता जग्गा किनिएको थियो । कोषमा ठेक्का पाएको बाबु निर्माण सेवा कम्पनीले भट्टराईलाई जग्गा बेच्नेको नाममा पैसा हाल्दिएको थियो ।

‘सरोजकी आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा पास भएको र बेच्नेको खातामा ठेकेदारले पैसा जम्मा गरेको पाइयो,’ अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख थियो । कोषमा निर्माणसम्बन्धी कामको ठेक्का पाएको ठेकेदारले भट्टराईलाई जग्गा बेच्ने व्यक्तिको खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरि ८० लाख रुपैयाँ जम्मा गरिदिएको पुष्टि भएपछि दोषी ठहर गर्दै सजाय निर्धारण भएको हो ।

 
 
  
 

You may also like