कुवेतमा विदेशी कामदार बस्ने भवनमा भीषण आगलागी, ४१ जनाको मृत्यु

काठमाडौं । कुवेतको दक्षिणी अहमदी गभर्नरेटको मङ्गाफ क्षेत्रमा रहेको छ तले भवनको भान्छामा बुधबार बिहान आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । तीमध्ये अधिकांश भारतीय नागरिक रहेको आशंका गरिएको छ ।

कुवेती अधिकारीहरुका अनुसार, आगलागीका समय करिब १६० जना भवनमा रहेको अनुमान गरिएको छ । आगलागी छैठौं तलामा रहेको ग्लोसरीबाट सुरु भएको थियो । उक्त दुर्घटनामा नेपाली परे–नपरेको बारे भने यकिन हुन सकेको छैन । कुवेतमा रहेको भारतीय दूतावासले समेत घटनाबारे चासो व्यक्त गर्दै उक्त भवनमा बस्ने सबै भारतीय नागरिकलाई सम्पर्कमा आउन भनेको छ । आवश्यक सम्पूर्ण सहयोग गर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुवेतमा आगलागी भएपछि नयाँदिल्लीमा रहेका भारतीय विदेशमन्त्री एज जयशंकरले भनेका छन्, ‘कुवेतमा आगलागीको घटनाको खबरले गहिरो स्तब्ध भएको छ । त्यहाँ ४० भन्दा बढीको मृत्यु भएको र ५० भन्दा बढी अस्पतालमा भर्ना भएका छन् । हाम्रा राजदूत शिविरमा गएका छन् । हामी थप जानकारीको पर्खाइमा छौं ।’

घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दै विदेशमन्त्री जयशंकरले सम्बन्धित सबैलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कुवेतका आन्तरिक मन्त्री शेख फहाद अल युसुफ अल सबाहले अत्यन्तै दुःखद् आगलागी भएको बताउँदै मङ्गाफ भवनका मालिक, भवनका चौकीदार र कामदारहरूको लागि जिम्मेवार कम्पनीका मालिकलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएका छन् ।

 
 
  
 

You may also like