सिंहदरबारभित्रै बाल श्रमिक, काठमाडौं महानगरद्वारा पाँच जनाको उद्धार

काठमाडौं । सिंहदरबार देशका प्रधानमन्त्रीदेखि मन्त्री, सांसद र नीतिगत तहका कर्मचारी बस्ने मुख्य प्रशासकीय केन्द्र हो । तर, उनीहरूलाई खाजा खुवाउने क्यान्टिनमा भने कानुन विपरीत बाल श्रमिकलाई काममा लगाइएको पाइएको छ ।

काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले विभिन्न क्यान्टिनमा काममा लगाइएका पाँच जना बाल श्रमिकको उद्धार गरेको छ । सिंहदरबारभित्र रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको केन्द्रीय चमेना गृहबाट तीन जना बालिका, ऊर्जा तथा जलस्रोत मन्त्रालयको एक जना बालक र उद्योग तथा बाणिज्य मन्त्रालयको क्यानटिनबाट एक जना बालक गरी पाँच जना बालबालिकाको उद्धार गरेको हो ।केही दिनअघि एक सांसदको घरबाट श्रम शोषणमा परेकी एक बालिकाको उद्धार गरिएको थियो । ती बालिकाले आफूलाई विभिन्न प्रकारका यातना पनि दिएको बताएकी छन् ।

बाल श्रमिकको प्रयोग भइरहेको सूचनाका आधारमा महानगरले निर्माण क्षेत्रमा पनि अनुगमन बढाएको महानगर प्रमुख बालेन्द्र शाहको सचिवालयले जानकारी दिएको छ । आज बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि हो । पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने भन्दै सार्वजनिक सूचना निकालेको थियो । तर पनि धेरै ठाउँमा बालश्रम गराइरहेको पाएपछि महानगरले बालबालिकको उद्धार गर्ने अभियान चलाएको छ । उद्धार गरेका बालबालिकालाई मानव सेवा आश्रमा राखिँदै आएको छ ।

 
 
  
 

You may also like