आज नयाँ वर्ष : देशभर सार्वजनिक विदा, शुभकामना आदान–प्रदान गरेर मनाइँदै

काठमाडौं । विक्रम संवतको नयाँ वर्ष (२०८१) आज (शनिबार) देखि सुरु भएको छ । आज (शनिबार) नयाँ वर्षको पहिलो दिन । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ।

विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ । नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ ।

नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ। नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ ।

सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वनहरुको भनाइ छ। सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

 
 
  
 

You may also like