आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित

काठमाडौं । नेपाल ‘ए’ ले आयरल्याण्ड वुल्भ्सविरुद्ध तीन रनको रोमाञ्चक जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टी–२० शृंखला अन्तर्गत अन्तिम खेलमा नेपाल ३ रनले विजयी भएको हो ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ‘ए’ ले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १२० रन मात्र बनायो । आयरल्याण्डका लागि गरेथ डेलानीले सर्वाधिक ६८ रन बनाए भने मोर्गन टोपिङले ६० रन बनाए । त्यस्तै ओपनर रोस अदिरले ३१ र फिओन ह्यान्डले २२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपाल एका लागि विपिन खत्रीले ३ विकेट लिए भने कमल सिंह ऐरी, नारायण जोशी र रसिद खानले एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१३ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले इनिङ सम्हाल्दै सर्वाधिक ९७ रन बनाए । ४८ बलमा उनले ६ छक्का र ७ चौका प्रहार गर्दै अविजित रहे। त्यस्तै कमल ऐरी ७ बलमा १९ रन बनाउँदै अविजित रहे ।

आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो खेलमा शतक हानेका लोकेश बम ८ रन बनाएर पेभेलियन फर्किएका थिए । त्यस्तै देव खनालले ६, कप्तान विदोन भण्डारीले ११, आसिर अहमदले १९, पवन सर्राफले १३, रसिद खानले २४ रन बनाए । नेपालले यसअघि नै आयरल्याण्ड एविरुद्धको सिरिज गुमाएको थियो । आएरल्याड ‘ए’ ले पहिलो खेल २१ रन र दोस्रो खेल ४० रनले पराजित गरेको थियो । नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ सँग पर्सी बुधबारदेखि एक दिवसीय शृंखला खेल्ने छ ।

 
 
  
 

You may also like