बुटवलमा छाडा चौपाया ब्यवस्थापनलाई निरन्तरता,२५० बढी गाईगोरु गौशाला पुर्याइयो

बुटवल उपमहानगरपालिकाले छाडा चौपाया ब्यवस्थापनलाई निरन्तरता दिएको छ । बुटवल ७ शिवनगर सामुदायिक बनमा रहेको गौशालामा सडकमा रहेका गाईगोरुको ब्यवस्थापन गर्न उपमहानगरपालिकाले गत सातादेखि सुरु गरेको हो ।

शनिबार बिहान ५ बजेदेखि चौराहा ,मिलनचोक, योगिकुटी , कालिकानगर , देवीनगरका सडकमा रहेका छाडा चौपायालाई गौशालामा लगिएको हो । स्थानीय , नेपाली सेना , नेपाल प्रहरी ,शसस्त्र प्रहरी , नगर प्रहरी , जनप्रतिनिधि, कर्मचारीको सहयोगमा सडकमा रहेका गाईगोरुलाई गौशालामा लगिएको हो ।

छाडा चौपायाको ब्यवस्थापनलाई निरन्तरता दिर्ईएको र सबै नगरबासीको साथको आवश्यकता रहेको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । सडकमा रहेका गाईगोरुलाई गौशालमा ल्याउनको लागि सहयोग गर्नको लागि उहाँले आग्रह गर्नुभयो । शुभकार्य वा कुनै अवसरमा गौशालामा आएर गाईगोरुलाई घास , पराल , दाना उपलब्ध गराए मनाउनको लागि पाण्डेयले आग्रह गर्नुभयो । गाईगोरुको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउँदै उहाँले गाईगोरुको आहारको ब्यवस्थापन गर्नको लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले होटलमा रहेको साकाहारी खाना गौशालामा ल्याएर सहयोग गर्नको लागि आग्रह गर्नुभयो । शनिबार करिब २५० भन्दा बढि गाईगोरु गौशालामा ल्याईएको बुटवल उपमहानगरपालिकाले जानकारी दिएको छ ।

 
 
  
 

You may also like