व्यवसायिक संस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि तयार

रुपन्दहीका व्यवसायिक संघसंस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि सहमत भएका छन् । व्यवसायिक वातावरण सुधारको लागि सामुहिक पैरवी गर्दा त्यसको प्रभाव पर्ने निश्कर्ष सहित सामुहिक पैरवीको लागि तयार भएका हुन् ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र एकाउन्टिविलिटी ल्यावको संहकार्यमा शुक्रबार भएको व्यवसायिक क्षेत्र विकासमा निजी क्षेत्रको पैरवी विषयक कार्यशाला गोष्ठीमा सहभागि जिल्लाका व्यवसायिक संघसंस्थाका प्रमुखहरुले सामुहिक पैरवीमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
त्यसको लागि निजी क्षेत्र र स्थानीय सरकार बिच व्यवसायिक नीति संवाद मञ्चको स्थापना गर्ने र भईरहेको व्यवसाय स्थानान्तरणलाई व्यवस्थापन गर्न सामुहिक पहल गर्ने विषयमा सबै व्यवसायिक संस्थाका कार्यालय प्रमुखहरु सहमत भएको बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराउनु भयो ।

गोष्ठीमा व्यसायिक निजी संवाद मञ्चको संरचना तथा अवधारणा बारे छलफल भएको थियो । व्यवसायिक वातावरण सुधार गर्नको लागि सबै व्यवसायिक संस्थाले साझा मागपत्र दिने समेत निर्णय भएको छ ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले फरक फरक व्यवसायिक संस्थाका एजेण्डा मिल्न सक्छन् र मिल्ने एजेण्डामा सामुहिक पैरवी गर्दा त्यो प्रभावकारी पनि हुन सक्ने बताउँदै मिल्ने एजेण्डामा सामुहिक पैरवी आवश्यक रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्की, रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी, सिद्धार्थ उद्योग वाणिज्य संघकी प्रमुख कार्यकारी अधिकृत कमला बस्नेत, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराई, रुपन्देहीकी सचिव पूर्णिमा अधिकारी, सैनामैना उद्योग वाणिज्य संघका कार्यालय प्रमुख रविन गौतमले आफ्ना आफ्ना संघले गरेका पैरवीले पारेका प्रभावको बारेमा जानकारी गराउँदै सामुहिक पैरवीले अझै राम्रो गर्न सकिने भनाई राख्नुभएको थियो ।

यी व्यवसायिक संघसंस्थाहरुले विशेष गरेर व्यवसायिक प्रवद्र्धन, व्यवसायीलाई संरक्षण, उनीहरुको हकहित, नीतिगन रुपमा पैरवी तथा सामाजिक कृयाकलाप समेत गर्दै आएका छन् । तथ्यमा आधारित भएर सामुहिक रुपमा गरिने पैरवीले परिणाम पनि प्राप्त हुने एकाउन्टिविलिटी ल्यावका राजु शर्माले बताउनु भयो । उहाँका अनुसार तथ्यका आधारमा गरिने पैरवीमा तथ्य प्रमाण, अनुसन्धान र विश्लेषणको समेत प्रयोग हुने भएकाले त्यसलाई नकार्न सकिँदैन ।

सरोकारवालासंग बहस गरेर संस्थागत नीति निर्माण, पत्रपत्रिका लगायतका सञ्चार माध्यममा पब्लिसिटी गर्ने तथा पैरवी गर्दा प्रभावकारी प्रस्तुती आवश्यक हुने उहाँले बताउनु भयो । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, सचिव प्रतिक पोखरेल लगायतले व्यवसायिक संघसंस्थाहरुमा हुने बहस, छलफल तथा पैरवी कर घटाउनेमा मात्रै केन्द्रित हुन थालेको औंल्याउँदै बहस, छलफल तथा पैरवीलाई व्यापार बढाउनेमा केन्द्रित गर्नुपर्ने भनाई राख्नुभएको थियो । त्यस्तै जग्गाको मुल्यांकन वार्षिक १० प्रतिशत अटोमेटिक बढ्ने प्रावधानले सबैलाई मर्का परेको भन्दै त्यसलाई पनि बहसको विषय बनाउनु पर्ने उनीहरुको भनाई छ ।

 
 
  
 

You may also like