‘बुटवलको खस्किदो बजार जोगाउन घरधनी मितव्ययी हुनुपर्छ’

बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेको बुटवल नयाँ बसपाक स्थिती भवनका १७ वटा सटर भाडामा लागाउन भाडादर घटाउँदै दुई पटक टेण्डर आह्वान गरिसकेको छ । नगरपालिकाले पहिलो पटक २५ प्रतिशत र दोस्रो पटक २० प्रतिशत भाडा घटाएर टेण्डर आह्वान गरेको हो । तरपनि व्यवसायीको प्रतिस्पर्धा नभएको बुटवल उपमहानगरपालिका राजश्व शाखाका प्रमुख डोलराज पौडेल बताउनु हुन्छ । त्यस बाहेकका नगरपालिकाको स्वामित्वमा रहेको पुरानो बुटवल फाईनान्स रहेको नगरपालिकाको भवन र हाटबजारको पहिलो तलाका सटरहरु एक कोठा सहित न्यूनतम ७ हजारमा दुई वटा सटर मात्रै भाडामा गएका छन् ।

कोभिड–१९ महामारी, रुस–युक्रेन युद्ध, विश्कै आर्थिक अवस्थामा आएको गिरावट लगायतका कारणले व्यापार व्यवसाय घटेकै थियो । त्यसमाथि बुटवलमा सडक निर्माणमा भएको ढिलाई, धुलो, हिलो, चर्को घरभाडा र अनलाईन व्यापार समेतका कारण बुटवलको व्यापार व्यवसाय घटेको त छ नै अन्यत्र स्थानान्तरण समेत भईरहेका छन् ।

यस्तो अवस्थामा बुटवलको व्यापारलाई कसरी पुनःताजकी गराउन सकिन्छ भन्ने विषयमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सुक्रबार संघमा छलफल गरेको छ । त्यस अवसरमा संघका अध्यक्ष हरिप्रसाद अर्यालले यहि स्थिती हुँदै जाने हो भने भोलीका दिनमा घरधनीले घर कुर्ने मान्छे खोज्नुपर्ने अवस्था आउन सक्ने बताउनु हुन्छ । त्यस कारण पनि बुटवलको बजार जोगाउन घरधनीले पनि चासो र चिन्तन गर्नुपर्ने उहाँको भनाई छ । उहाँले व्यापार व्यवसाय रह्यो भने घरभाडा पनि रहिरहने भएकाले घरधनीलाई मितव्ययी बन्न पनि आग्रह गर्नुभयो ।

छलफलमा संघका पूर्वअध्यक्ष ज्ञानेन्द्र कसजूले बुटवलको बजार बचाउने हो भने निजी घरधनीहरुले कम्तिमा ३० प्रतिशत भाडा घटाउनु पर्ने धारणा राख्नुहुन्छ । त्यस अवसरमा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योगी व्यवसायीहरु बाबुराम आचार्य, राजकुमार पाण्डे, रामेश्वर श्रेष्ठ लगायतले व्यापार व्यवसाय बचाउन सकिएन भने बुटवल बजार सेलाउँदै जाने भएकाले त्यसमा गम्भिर हुन सबैलाई आग्रह गर्नुभएको थियो ।

यी यावत कारण बुटवलको व्यापार व्यवसाय आधा घटिसकेको बताउँदै संघका वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईले व्यापार व्यवसायको लागि घर भाडामा लगाएका घरधनीहरु भाडा समायोजन गर्न तयार हुनु पर्ने बताउनु भयो । यदि घरधनीहरु घरभाडा समायोजन गर्न तयार नहुने हो भने व्यापार व्यवासाय स्थानान्तरण भई घर खाली रहने दिन आउन सक्ने आंकलन गर्नुहुन्छ ।

संघमा भएको छलफलबाट यस विषयमा घरधनीहरुलाई आह्वान गर्ने र संगसंगै घरधनीहरुसंग एउटा बृहत कार्यक्रम गर्ने निश्कर्षमा पुगिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।

 
 
  
 

You may also like